site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अक्षर खेतीका किसान
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


कसैलाई नामको लोभ, कसैलाई दामको । दाममा लोभिनेहरू अक्सर गुमनाम हुन्छन् । नामको तिर्खा पाल्नेहरू धन छोडेर नामकै लागि जिउँछन् । यस्तै पात्रमध्येका एक हुन्– ‘रोदन’ अर्थात् श्रीओम श्रेष्ठ । नामकै पछाडि लागेर उनले बैंकको जागिर छाडे । ‘मधुपर्क’मा काम शुरु गरे । कवि मन र चेत बोकेका रोदन हरेक दिन सिद्धिचरण श्रेष्ठलाई साहित्य वाचन गरेर सुनाउन ओमबहाल पुगे । साहित्यिक मन र क्षमता भएकाहरूको संगतले उनी स्वयं साहित्यकार भए । ‘मधुपर्क’को सम्पादक हुँदै ‘गोरखापत्र’ दैनिकको सम्पादक भए । आजीवन अक्षरकै खेती गरेका श्रीओमका बारेमा केही अक्षरः

० ० ०

Prabhu Bank
Agni Group
NIC Asia

सिद्धिचरण श्रेष्ठसँग श्रीओमले ०४५ मा ‘नयाँ मार्ग’का लागि पेजभरिको अन्तर्वार्ता लिए । सम्बन्ध, सम्पर्क पहिलेदेखि नै थियो । त्यो अन्तर्वार्ताले सम्बन्धलाई अझ नजिक बनायो । नेपाल बैंक न्युरोडमा थियो, जहाँ श्रीओम काम गर्थे । सिद्धिचरण ओमबहालमा बस्थे । श्रीओम प्रत्येक दिन बिहान ९ बजे बैंक पुग्थे, हाजिर गर्थे र सिद्धिचरणको घर पुग्थे । विभिन्न लेखकले दिएका किताब भुइँभरि छरिएका हुन्थे । लुंगी लगाएका सिद्धिचरण खाटमा बसिरहेका हुन्थे ।

“म जानेबित्तिकै उहाँ कहिले कथा, कहिले निबन्ध, कहिले कविता त कहिले उपन्यास पढेर सुनाउन भन्नुहुन्थ्यो,” श्रीओम सिद्धिचरणसँगको घनिष्टता र उनको बानी सुनाउँछन्, “अनि म उहाँलाई हरेक दिन आधा घण्टा पढेर सुनाउँथें । म वाचन गरिरहेको हुन्थें, उहाँ कहिले तमाखु तानेर सुनिरहनुहुन्थ्यो, कहिले झोक्राएर सुनिरहँदा भुसुक्क निदाउनु हुन्थ्यो । यति गर्दा कहिले १०, साढे १० त कहिले ११ बज्थ्यो । उहाँ निदाएपछि मात्रै म अफिस फर्किन्थें ।”

Global Ime bank

श्रीओमले ०४६ सालमा ‘सरगम’ नामक कविता संग्रह निकाल्ने भए । त्यसका लागि उनले सात जना कविका सात–सात वटा कविता राखेर सम्पादन गरे । त्यसमा उनको पनि कविता थियो । त्यो संग्रहमा उनले सातै जनाको भूमिका लेखाउन खोजे— केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, पारिजात, मञ्जुल, रमेश विकल र मोहन कोइराला । पारिजातले ‘म बिरामी छु, सक्दिनँ’ भनिन् । अरु सबैले भन्नेबित्तिकै लेखिदिए । केदारमानले बीसौं पटक बोलाए । हरेक पटक उनी ‘मैले आज नयाँ कविता लेखेको छु, ल सुन’ भन्थे । आफ्नो कविता सुनाउँथे र भोलि आउन भन्दै पठाउँथे । 

एकपटक सिद्धिचरण बिरामी परे । टिचिङमा राखिएको थियो उनलाई । उनी श्रीओमलाई अस्पतालमा पनि बोलाउँथे । तर, अस्पतालमा पनि के कविता सुनाउनु भनेर श्रीओम गएनन् । केही समयपछि सिद्धिचरण डिस्चार्ज भए । ओमबहालमा उनलाई हेर्न आउने साहित्यकार र शुभेच्छुकको भीड लाग्न थालेपछि ‘डिस्टर्ब’ भयो भनेर उनलाई छोरीको घर सानेपामा राखियो । त्यहाँ पनि सिद्धिचरणले श्रीओमलाई बोलाए । सिद्धिचरणसँग श्रीओम पुराना कुरा गर्न खोज्थे तर उनी भने पढेर सुनाउन लगाउँथे ।

सधैं एउटै दैनिकी श्रीओमलाई दिक्क लाग्न थालेको थियो । एकदिन सिद्धिचरणकी छोरीले बोलाएर भनिन्, “बुवाले तपाईंको पुस्तकका लागि भूमिका लेखिदिइसक्नुभएको छ रे ! लिन आउनुस् रे !”

त्यसपछि उनी फेरि सानेपा पुगे । चार दिनसम्म उसैगरी पुस्तक पढेर सुनाए तर भूमिका पाएनन् । “पाँचौं दिनमा बल्ल उहाँले मलाई भूमिका दिनुभयो । भूमिका वास्तवमा उहाँले पहिला नै लेखिसक्नुभएको रहेछ, नदिनु भएको मात्रै रहेछ,” फिस्छ हाँस्छन् श्रीओम । 

नारायण गोपाल

०३६ चैत ३० गते राष्ट्रिय नाचघरमा श्रीओमले एउटा सांगीतिक कार्यक्रम आयोजना गरेका थिए । नाम जुराएका थिए— विविध सांस्कृतिक कार्यक्रम । सयौं टिकट बिक्री पनि भयो ।

त्यो बेला नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक थिए । हल भाडा ४ सय रुपैयाँ थियो । हरिवंश आचार्यलगायतका कलाकारलाई आयोजकले सय/सय रुपैयाँ पारिश्रमिक दिएको थियो ।

दुई दिनअगाडि नारायण गोपालले श्रीओमलाई बोलाएर भने, “ल, त्यो दिन त्यही समय हाम्रो कार्यक्रम पर्‍यो । तिमीले तिम्रो कार्यक्रम साढे १२ बजे गर्नुपर्‍यो ।” श्रीओमले साढे २ बजेका लागि कार्यक्रम तय गरेका थिए ।

श्रीओमले भने, “हामीले टिकट बेचिसकेका छौं । अब सबैलाई समय सर्‍यो भनेर खबर गर्न पनि सकिँदैन ।”

नारायण गोपालले हप्काउँदै भने, “मैले भनेपछि खुरुक्क सार ।”

नारायण गोपालसँगको श्रीओमको पहिलो भेट नै सुखद भएन । भलै सबैसँग हारगुहार गरेर उनले पूर्वनिर्धारित समयमै कार्यक्रम गरे ।

भूकम्पले जोडिदिएको सम्बन्ध

०४५ सालमा पूर्वी नेपालको उदयपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो । भदौ ५ गते बिहान पौने ५ बजे गएको ५.५ रेक्टर स्केलको भूकम्पले ७५० जनाको ज्यान लियो । ५ सयभन्दा धेरै घर भत्किए । काठमाडौंमा क्रियाशील कलाकार भूकम्पपीडितको सहयोगका लागि भनेर राहत संकलनमा जुटेका थिए । त्यो बेला चलचित्र तथा टेलिचलचित्रमा अभिनय गर्ने श्रीओम कलाकार संघमा आबद्ध थिए । उनको भागमा ललितपुर पर्‍यो ।

संयोगले त्यहाँ उनीसँगै नारायण गोपाल र नीर शाह पनि थिए । नारायण गोपालसँग शुरुमै झगडा परिसकेको थियो । नीरसँग पनि श्रीओमको सम्बन्ध चिसो भइसकेको थियो । टेलिफिल्म बनाएर लिएर जाँदा सिधै नीरले ‘यी...यी... पाँच जनालाई खेलाउनू’ भनेपछि श्रीओमले भनेका थिए, “पहिला हेर्नुस्, अनि मन परेन भने भन्नुस् तर हेर्दै नहेरी कसरी राम्रो छैन भन्न सक्नुहुन्छ ?”

नेपालमा टेलिभिजन भित्र्याउने नीर शाहका विषयमा श्रीओमले धेरै लेख लेखेका छन् । “मैले लेखेको आर्टिकल उहाँले नपढ्नुहोला कि भनेर हुलाकबाट उहाँकै नाममा पत्रिका पठाएको पनि छु,” श्रीओम भन्छन् ।

नारायण गोपालका अरु सबै पक्षलाई कलाले थिचेको श्रीओम बताउँछन् । “नाचघरको अध्यक्ष हुँदा उहाँले दशैैंको मुखमा ४० जना करार कर्मचारीलाई निकालिदिनुभयो । निकालिनेमा हरिवंश आचार्य पनि हुनुहुन्थ्यो,” श्रीओम सम्झन्छन्, “त्यो बेला कलाकारहरूको रुवाबासी चलेको थियो । घर जान कलाकारले चन्दा उठाएको मलाई आज पनि याद आउँछ ।”

नारायण गोपालका कमीकमजोरीलाई लिएर श्रीओमले एउटा लेख पनि लेखे । तर, चौतर्फी आक्रमण भएपछि उनले लेख्न छाडिदिए । कलाका पुजारी नारायण गोपाल व्यवस्थापकका रूपमा भने क्रूर रहेको श्रीओमाको सम्झनामा अझै छ ।

संयोगले राहत उठाउँदा उनीहरू सँगै परे । त्यो भूकम्पले सम्बन्धको दरारलाई पुरिदियो । त्यसपछि थुप्रै अनौपचारिक भेटघाट र खानपानहरू भए । नीरको ‘गुडनाइट’ एफएममा धेरै समय श्रीओमले काम गरे ।

प्रिन्टलाइनसम्म पढ्थे  

स्कुल पढ्दाताका श्रीओमको पसल थियो । बिदाको दिन उनी पसलमा बस्थे । ‘गोरखापत्र’ दैनिकबाहेक अरु खासै पत्रिका थिएनन् । भए पनि नियमित प्रकाशन नहुने भएकाले होला— खासै कोही पनि ग्राहक बन्दैनथे । उनको पसलमा ‘गोरखापत्र’ नियमित आउँथ्यो । त्यो पत्रिकाको ‘सर्वे भवन्तु सुखिन’देखि अन्तिम पृष्ठको तल देखिने प्रिन्टलाइनसम्म पढ्थे । उनको मस्तिष्कको पानामा अझै सुरक्षित छ त्यो स्मृति । त्यो बेला राष्ट्रिय पञ्चायतका सदस्यहरूले बोलेको ‘क’ देखि ‘ज्ञ’ सम्म ‘गोरखापत्र’मा जस्ताको तस्तै छापिन्थ्यो ।

पढ्दापढ्दै उनलाई पनि पत्रिकामा केही लेख्न पाए हुन्थ्यो भन्ने लोभ पलायो । उनले ‘गोरखापत्र’मा सम्पादकलाई चिठी पठाउन थाले । साप्ताहिक पत्रिकाहरूमा कविता पठाउन शुरु गरे । ‘नयाँ सन्देश’मा प्रश्नोत्तर पठाउन थाले । ‘अस्तित्व’ र ‘चक्षु’मा पनि रचना पठाउन थाले ।

“०३४ सालमा गोरखापत्रमा पहिलो पटक सम्पादकलाई पठाएको चिठीको कटिङ अहिले पनि मसँग छ । कस्तो संयोग हो यो ?” श्रीओम थोरै रोमाञ्चित हुन्छन्, “जुन पत्रिकामा मैले सम्पादकलाई चिठी लेख्थें, करिब ४० वर्षपछि त्यही पत्रिकाको प्रधानसम्पादक भएँ ।” 

श्रीओमले सधैं पत्रिका पढेको देखेर उनकै टोलका लक्ष्मणबहादुर विष्टले एकदिन भने, “तिमीलाई रुचि छ भने मेरोमा लेख न त ।” विष्टले न्युरोडबाट ‘नयाँ मार्ग’ पत्रिका निकाल्थे । श्रीओमले ०४० सालबाट ‘नयाँ मार्ग’मा नियमित लेख्न थाले ।

०४५ सालबाट उनले रंग पत्रकारिता शुरु गरे । त्यो बेला चलचित्रसम्बन्धी पत्रकारिता गर्ने ‘कामना’ मात्रै थियो । भगवान् श्रेष्ठको लगानीमा ‘चलचित्र’ प्रकाशन शुरु भयो । त्यसमा उनले पनि काम गरे । उनी आफैंले पनि तीन वटा चलचित्र पत्रिका निकाले । ‘पूर्णिमा’, ‘वारपार’ र ‘कुमारी’मा श्रीओम नै सम्पादक थिए । त्यो बेला चलचित्र पत्रकार ८–१० जना मात्रै थिए । उनीहरू सबैभन्दा श्रीओमले धेरै लेख्थे ।

शाही नेपाल चलचित्र संस्थानले सरकारी लगानीमा चलचित्र बनाउँथ्यो । निजी क्षेत्रबाट मुस्किलले वर्षमा एउटा÷दुइटा चलचित्र बन्थे । मासिक पत्रिका चलचित्रका समाचारले भर्नुपथ्र्यो । सजिलो थिएन । सुटिङ रिपोर्टसम्म हाल्नुपथ्र्यो । हिरोइनका श्रीमान् र हिरोका श्रीमतीसँग कुरा गरेर समाचार र अन्तर्वार्ता गर्थे । चलचित्रका निर्माताहरू कभरेजका लागि पत्रकारलाई घरसम्म गाडी पठाइदिन्थे । कलाकारहरू ‘लौ न, मेरो कभरस्टोरी र फोटो छापिदिनुपर्‍यो’ भन्दै आग्रह गर्थे ।

नेपाल बैंकको जागिर

०४० सालमा उनले जागिरे जीवन शुरु गरे । नेपाल बैंकमा काम गर्थे । सेवा, सुविधाका हिसाबले उनी सन्तुष्ट नै थिए । सेवा पाँचौं तहको थियो । गोरखापत्र संस्थानको प्रकाशन ‘मधुपर्क’मा सातौं तहमा आवेदन आह्वान भयो । नाम निस्कियो । नेपाल बैंकको जागिर छोडेर पत्रिकामा काम गरौं कि नगरौं ? उनमा ठूलो दोधार भयो । ३५ औं दिनसम्म पनि उनी द्विविधामै थिए । तर, उनलाई लाग्यो— पैसाले कोही परिचित पनि हुँदैन र स्थापित पनि हुँदैन । मान्छेहरू पैसा खर्च गरेर नाम खोज्छन् । रुचिको क्षेत्रमा काम गर्‍यो भने सन्तुष्टि पनि हुन्छ भन्ने निष्कर्षमा पुगे । उनले हिम्मत गरेर ३५ औं दिनमा ‘मधुपर्क’को नियुक्ति लिए ।

समय ‘मधुपर्क’को थियो । लोकप्रियता शिखरमा थियो । दिनभरि स्थापितदेखि नयाँ साहित्यकारहरू ‘मधुपर्क’को कार्यालयमा आउने–जाने क्रम चलिरहन्थ्यो । हुलाकबाट थाकका थाक रचना आउँथे । ‘मधुपर्क’ले हुलाकबाट प्राप्त भएका रचना ‘स्तरीय छन् भने एक वर्षसम्ममा प्रकाशन हुन सक्छन्’ भन्ने सूचना प्रकाशन गथ्र्यो । उप–सम्पादकको जिम्मेवारीबाट छिरेका श्रीओम सम्पादक भए ।

पूर्वअर्थमन्त्री तथा सचिव गीतकार एसपी कोइरालाले ‘मधुपर्क’को वार्षिकोत्सवमा बोलेको श्रीओम उद्धृत गर्छन्, “सरकारी अफिसर हुन लोकसेवाको परीक्षा पास गरेजस्तै साहित्यकार हुनलाई ‘मधुपर्क’मा रचना छापिनुपर्छ भन्ने मान्यता थियो ।”

३० को दशकमा ‘मधुपर्क’मा चिठ्ठी लेख्नेहरू नै अहिले नेपाली साहित्यका प्रतिनिधि लेखक भएका छन् । रमेश विकल, श्रीधर खनाल, कृष्णचन्द्रसिंह प्रधान, केदारमान व्यथित, बालकृष्ण समसमेत ‘मधुपर्क’मा पाठक प्रतिक्रिया लेखेर साहित्यमा प्रवेश गरेका थिए ।

४० को दशकमा दिनेश अधिकारी, विश्वविमुन श्रेष्ठ, अशेष मल्लको पुस्ता पनि ‘मधुपर्क’को आँकुरा स्तम्भको बाटो हुँदै जन्मिएका साहित्यकार हुन् । ‘मधुपर्क’ले ५ हजारभन्दा धेरै लेखकका रचना प्रकाशन गरिसकेको आँकडा श्रीओमसँग छ ।

‘मधुपर्क’मा आफ्नो रचना प्रकाशन भएन भनेर चिढिने त छँदै थिए, ढिलो भयो भनेर गुनासो गर्नेको संख्या पनि सानो थिएन । “नाम भन्यो भने अपमान हुन्छ, वरिष्ठ लेखकहरू नै ‘मैले पनि रचना छपाउन कुर्नुपर्ने ?’ भन्दै अफिसमै आएर गुनासो गर्नुहुन्थ्यो । सकेसम्म हामी त्यस्ता साहित्यकारका रचना छिटै छाप्ने प्रयत्न गथ्र्यौं,” श्रीओम भन्छन् ।

रचना छाप्न प्रधानमन्त्रीको तोक

त्यसो त दरबारका रचनाहरूको बेग्लै कथा छ उनीसँग । दरबारका व्यक्ति र त्यहाँ काम गर्नेहरू जो साहित्यकार थिए, उनीहरू आफूभन्दा तल्लो तहका कर्मचारीलाई फोन गर्न लगाउँथे । दरबारको रचना भनेपछि ‘मधुपर्क’ले दायाँबायाँ नसोची सीधै छापिदिन्थ्यो । सेटअप भइसकेको पेजबाट अरु रचना निकालेर भए पनि प्रकाशन गरेको श्रीओमको दिमागमा ताजै छ । मविवि शाह, चाँदनी शाहदेखि जी शाहसम्मका रचना ‘मधुपर्क’मा छापिए ।

गुनासो एउटा कुरा, असन्तुष्टि अर्कै कुरा । त्यसभन्दा पनि अगाडि बढेर रचना छाप्न राजनीतिक शक्ति लगाउनेहरू थोरै थिएनन् । प्रधानमन्त्रीदेखि सञ्चारमन्त्री र सचिवसम्मको तोक लगाएर आउनेहरूको पनि सामना गरे श्रीओमले । यो क्रम ०६२–६३ को जनआन्दोलनपछि फस्टाएन मात्रै, मौलायो नै ।

सिंहदरबारमा व्यवस्था परिवर्तनको झन्डा फेरियो । केहीलाई अब हाम्रो अधिकार जम्यो भन्ने भ्रम शुरु भयो । त्यही भ्रममा रहेका क्षणिक लेखकका रचनामा साहित्यिक चेत कम र बन्दुक र बारुदको गन्ध बढी हुन्थ्यो । श्रीओमकै शब्दमा ‘करार’ र ‘म्यादी’ लेखकहरू कडिकडाउका साथ ‘मधुपर्क’ पुग्थे । ‘मधुपर्क’ले स्तरीयता खोज्थ्यो । उनीहरूको पालो नै आउँदैनथ्यो । अनि उनीहरू प्रधानमन्त्रीको कार्यालयदेखि सञ्चारमन्त्री र सचिवसम्मको तोक लगाएर ल्याउँथे ।

“संयुक्त राष्ट्रसंघका महासचिवले ‘तिम्रो रचना राम्रो छ’ भनेर राष्ट्रसंघको लेटरहेडमा लेखेको लेटरको फोटोकपीसमेत रचनासँगै लिएर आउँथे,” श्रीओम व्यवस्थासँगै आएको परिवर्तन र त्यसको उन्मादमा बढेको शक्तिको दुरुपयोग सुनाउँछन्, “तर, हाम्रो व्यवस्थापनको अडानका कारण हामीले सरकारको माथिल्लो तह र अध्यक्षबाट तोक लागेर आएका रचना छापेनौं ।”

श्रीओमको साहित्यिक नाम हो ‘रोदन’ । ‘रोदन’कै नामबाट उनले ११ वटा पुस्तक प्रकाशन गरे । १४ वटा सम्पादन गरे । कविता संग्रहदेखि निबन्ध संग्रहसम्म प्रकाशन गरे ।

‘अर्थहीन अर्थहरू’, ‘समयका सम्भावनाहरू’, ‘एक्लो परिचय’, ‘भनौं कि नभनौं’, ‘समुद्रवारि समुद्रपारि’, ‘नबिर्सने दिनहरू’, ‘प्रसंगबस’लगायत उनका प्रकाशित कृति हुन् ।

स्कुल र ‘रोदन’को कथा

स्कुल पढ्दा उनलाई नाटक खुब मनपथ्र्यो । नाटकले तानेको मन किन फर्किन्थ्यो र ! त्यसमै रमाउन थाले । वार्षिकोत्सवमा होस् या अन्य कुनै कार्यक्रम— सन्दर्भ जुट्नु पथ्र्यो, उनी नाटक देखाइहाल्थे ।

उनी सानैदेखि कविता लेख्थे । विद्यालयका अधिकांश साहित्यिक कार्यक्रममा पुरस्कृत हुन्थे । डा. केआई सिंह पूर्वप्रधानमन्त्रीका नाताले पुरस्कार दिन आउँथे । पुरस्कृत हुनेको नाम ‘गोरखापत्र’मा छापिन्थ्यो । तर, श्रीओमको नाम कहिल्यै पनि शुद्ध छापिएन । ओमप्रसाद श्रेष्ठ भनेर छापिन्थ्यो ।

कहिल्यै नाम शुद्ध नछापिएपछि उनले सोचे— अब साहित्यिक नाम राख्छु ।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध पढेका थिए । त्यसमा एउटा शब्द भेटेका थिए– रोदन । त्यो शब्द उनलाई खुब मन पर्‍यो । तर, अर्थ थाहा थिएन । अर्थ नबुझे पनि उनले ०३३ सालमा त्यही नामलाई आफ्नो साहित्यिक नाम राखे ।

त्यो बेला श्रीओम कविता त लेख्थे तर उनमा साहित्यकार भन्दा पनि कलाकार बन्ने रहर थियो । ०३३ सालमा राष्ट्रिय नाचघरमा महाकवि देवकोटाको ‘मुनामदन’ मञ्चन भएको थियो । उनी विद्यालयबाट साथीहरूसँग हेर्न गएका थिए । नाटक हेरेर फर्किएपछि बाटोमा उनीहरू अभिनय गर्दै फर्किएका थिए, त्यहीँबाट उनले हरेक वार्षिकोत्सवमा नाटक देखाए विद्यालयमा ।

प्रहसन देखाउँथे स्कुलमा । त्यसमा कमेडी रोल उनको भागमा पथ्र्यो । विद्यालयसम्म र त्यसपछिका केही वर्षसम्म पनि उनले कमेडियनको भूमिका नै निर्वाह गरे नाटकमा । ‘तीन छक्क’ नाटकदेखि बूढो मान्छेको रोल गर्न थालेका उनले त्यसपछि अधिकांश भूमिकामा अभिनय गरे ।

४० को दशकको शुरुमा नेपाल टेलिभिजन स्थापना भयो । टेलिभिजनको प्रसारणसँगै टेलिफिल्महरू बन्न थाले । बद्री अधिकारीले ‘दोषी’ नामक टेलिफिल्म बनाए । त्यसमा अभिनय गरे । ‘नमस्ते काठमाडौं’मा प्रहरी निरीक्षकको भूमिकामा अभिनय गरे । ‘सम्झौता’को मुख्य अभिनेता नै श्रीओम थिए ।

०३७ सालमा बनेको ‘जुनी’ नामक चलचित्रमा पनि उनले अभिनय गरेका थिए । यसमा दलितको भूमिकामा थिए श्रीओम । प्रकाश सायमीको ‘रानी खोला’ र ‘हतियार’मा पनि काम गरे । चेतन कार्कीको ‘विश्वास’मा पनि श्रीओम अटाए ।

०५१ सालमा एमालेको सरकार बन्यो । कम्युनिस्ट सरकार बनेपछि नेपाल टेलिभिजनबाट क्रान्तिकारी गीत बज्न थाले । केही कार्यक्रम पनि त्यस्तै बनेका थिए, जसमा रामेश, रायनका गीत बज्थे । त्यसमा पनि रामेशको ‘गाउँ गाउँबाट उठ...’ गीत खुब बज्थ्यो । रामेशको मुहारसँग करिब–करिब श्रीओमको मुहार मिल्छ । त्यसैले उनलाई धेरैले रामेश भनेर बोलाउँछन् । 

“पहिलो टेलिभिजनमा देखेको अनि ०५२ सालपछि ‘गाउँ गाउँबाट उठ...’ गीत गाएको व्यक्तिजस्तै देखेपछि मलाई काठमाडौंभित्र भन्दा पनि बाहिर गाडी रोकेर, साइकलबाट फर्किएर ‘तपाईं त्यही हात उठाएर गीत गाउने गायक होइन ?’ भनेर सोध्नुहुन्छ,” श्रीओम भन्छन्, “मलाई चारैतिरबाट घेरेर गीत गाउनु पर्‍यो भन्नुहुन्थ्यो । शुरुमा म पनि उहाँहरूसँग जिस्किन्छु अनि पछि म त्यो व्यक्ति होइन भन्दिन्छु । धरै झुक्किनुहुन्छ रामेश भनेर ।” उनले पछि पत्रिकामा लेखै लेखे ‘म रामेश होइन, श्रीओम हुँ’ भनेर ।

‘मधुपर्क’मा लामो समय बिताएका श्रीओम अहिले ‘गोरखापत्र’मा निमित्त प्रधानसम्पादकको जिम्मेवारीमा छन् । मासिक प्रकाशन हुने पत्रिकाबाट दैनिक पत्रिकाको नेतृत्वमा छन् । जता रहे पनि अक्षरकै खेती गरिरहेका छन् श्रीओम ।

“जनता हाम्रो करबाट तलब खाइरहेको पत्रिका भनेर त्यहीअनुसारको अपेक्षा गर्छन्, अर्कोतिर निजी क्षेत्रका पत्रिकासँगको प्रतिस्पर्धा,” अन्तिममा श्रीओम सुनिए, “थाहा छैन, अरु पत्रिकामा काम गर्न कत्तिको सहज छ तर हामीसँग दोहोरो अपेक्षा र जिम्मेवारी भएकाले त्यति सहज छैन ।”

तस्बिरःसौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC