अनुपम रोशी
बाबुले मुनामदन जलाइदिनुभयो
कक्षा ९ पढ्दाको कुरा हो, धेरै याद छैन । घुर्मैलो सम्झनामात्रै छ । नेपाली विषयका शिक्षक भाका हालेर कविता वाचन गर्न लगाउनुहुन्थ्यो । आफू पनि वाचकीमा एकदम पारंगत । स्वर सुनेरै मुग्ध हुन्थ्यौं हामी ।
एउटी साथी थिई । ऊ पनि कविता भनेपछि हुरुक्कै हुन्थी । तिनताक लक्ष्मीप्रसाद देवकोटाको झ्याउरे लयमा लेखिएको ‘मुनामदन’ खुब वाचन गर्थी र आफैं गद्गद् हुन्थी ।
कविता पढेर पनि क्या साह्रो फुरुंग भएको होला ! अचम्मित हुन्थे म ।
फुलेका केश गलेको जीउ आमाको मायाले,
बाँधेन हरे ! हजुरको पाउ ! मायाको छायाले,
हजूर ! आमाको मायाले !
जंगली देश बेपारी वेश संकट सहेर
के मिल्छ हरे ! तिनलाई छाडी ल्हासामा गएर ?
हातका मैला सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको वेश आनन्दी मनले !
हे मेरा प्यारा ! अमिरी मनले !
यी श्लोकहरू मुखाग्र, कष्ठस्थ थिए । जतिबेलै सुनाउँथी । आह्लादित हुन्थें म ।
एकदिनको कुरा हो । ‘मुनामदन’ किताब मागें मैले पनि । रातभरि आँखा झिमिक्क नपारी पढें । भोलिपल्ट साथीलाई पु¥याइदिन्छु भनेको, बाबाले थाहा पाइहाल्नुभयो ।
“ए ! मुनामदन पढ्ने बेला भयो तेरो ? यस्तो साहित्य कसले पढ्छन् थाहा छ तँलाई ? प्रेममा बिछोड भएका, विह्वल भएका, पागलले पो पढ्छन्, तिनैले लेख्छन् !” झाँको झार्नुभयो उहाँले ।
ठूलै अपराध गरेझैं मेरा गोडा लुगलुगी काम्न थाले । मुखको तीतो पोखिहाल्नुभयो । एकछिनपछि किताब दिनुहोला नि त भनेको, केको दिनुहुन्थ्यो ! सरासर गएर अँगेनामा पो हालिदिनुभयो । एकैरातमा पढिसक्छु भनेर साथीसँग मागेर ल्याएको । अब के जवाफ दिनु ! बडो द्विविधा आइलाग्यो मलाई ।
“तिम्रो किताब बाले च्यातचुत पारेर अँगेनामा हाल्दिनुभयो, म तिमीलाई पैसा दिन्छु है ?” साथीलाई पैसा दिन खोजेको के मान्थी ।
“मैले पनि अरूसँग मागेर ल्याएको, फेरि यतातिर मुनामदन पाइँदैन,” धरधरी रुन पो थाली ।
बल्लबल्ल फकाएर पैसा दिएँ । यसरी शुरू भएको हो, मेरो साहित्य ।
त्यसलगत्तै पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय कविता प्रतियोगिता गरेको थियो । त्यसमा पुरस्कृत हुने मौका मिल्यो । साहित्यक चेतले बिस्तारै हाँगा हाल्न थाल्यो ।
फुपू देखेर विवाहप्रति वितृष्णा
बाल्यकालको उति साह्रो सम्झना छैन । कतिपय स्मृति विस्मृतिको गर्तमा मिलिसके ।
एउटी फुपू हुनुहुन्थ्यो । माइत आएका बेला उहाँको शरीरमा नीलडाम हुन्थे । फुपाजुको प्रताडनाका चोटैचोट । वर्षौंवर्षदेखि ताडना खप्दै आएकी फुपू आँखाभरि आँसु पार्दै घर नपठाउन बिलौना गर्नुहुन्थ्यो । तर, परिवार निरीह हुँदै फुपाजु लिन आउनेबित्तिकै पठाइहाल्थ्यो ।
फुपूले पाएको यातना मुटुमा संगीनझैं बिझ्यो । नकारात्मक छाप बस्यो । विवाहप्रतिको धारणा सर्लक्कै बदलियो ।
फुपू त समाजको प्रतिनिधिमात्रै हुनुहुन्थ्यो । समाजमा यस्ता महिला थिएनन्, जसले श्रीमानका कुटाइ नखाएका हुन्, दुव्र्यहारका गह्रौं हात नबजारिएका हुन्, अपमानको काँडेदार वचनको सामना नगरेका हुन् ।
फुपू पनि भन्नुहुन्थ्यो, “के गर्नु नानी, हामी आइमाईहरूको भाग्य नै यस्तो । जस्तो भए पनि त्यही श्रीमानको मुख हेरर जीवन काट्नुपर्छ ।”
पुरुष नामको प्राणी जीवनमा नजोडिएसम्म नारी पूर्ण नहुने आदिम र पुस्तैनी मान्यताबाट वाक्क–दिक्क थिएँ र भत्काउन चाहन्थें ।
किशोरवयकै कुरा हो । विवाह शब्ददेखि अत्यन्त घृणाबोध हुन थालेपछि मेरो मथिंगलमा बास बस्न आइपुगेको थियो– ‘कुमारी आमा’ ।
यो फुपूको पीडाको प्रतिशोध थिएन । आम शोषित, पीडित र फगत बच्चा जन्माउने मेसिनका रूपमा हेरिएका तमाम महिलाहरूको मुक्तिको समवेत आवाज थियो ।
नारीलाई आमा बन्ने गुण प्रकृतिले नै निःशर्त प्रदान गरेको हुन्छ । मासिकश्रावपश्चात् आमा बन्ने प्रक्रिया शुरू पनि भइहाल्छ । त्यसका लागि विवाह नामको बन्धनको कुनै उपादेयता देखिनँ मैले । परिणामस्वरूप ०६८ सालमा ‘कुमारी आमा’ प्रकाशन गरें ।
एउटा रमाइलो घटना सम्झना छ ।
तिनताका केही स्वनामधन्य साहित्यकारहरू नवप्रवेशीलाई ‘मान्छे’ नै गन्दैनथे । कथमकदाचित देखिइहाल्यो भने पनि नदेखेजस्तै गर्थे । कि त मुन्टो बटारेर हिँड्थे ।
त्यस्तै एकजना ‘लब्धप्रतिष्ठित’ फेला परे ।
निकै विद्वान, भलाद्मी देखिने ती मनीषीको ‘छद्मरूप’को चर्चा चल्तीका साहित्यकारहरूबाट बेलाबेला नसुनेको होइन । आफैंले अनुभव गर्न पाएकी थिइनँ । त्यसपटक मौका मिल्यो ।
भृकुटीमण्डपको पुस्तक प्रदर्शनी हेरर मूल सडकमा आउँदै थिएँ । मूलढोकामा उभिएका ती पुरुष पोखिइहाले, “ए कुमारी आमा !”
मलाई थाहा छ– ती साहित्यकार बोलेका होइनन् । उनीभित्रको पौरुष बोलेको हो । महिला साहित्यकारलाई हेर्ने उनको दृष्टिकोण बोलेको हो । अतः किञ्चित दुःख लागेन । साहित्यका माध्यमबाट देश दुनियाँ बदल्न हिँडेका तर आफैं बदलिन बिर्सिएका त्यस्ता अकिञ्चन मनुवासँग रिसाएर साध्य पनि त हुँदैन ।
घरपरिवारसँग विद्रोह
गुल्मीबाट झरेको हो हाम्रो पुर्खा, पश्चिमी रुपन्देहीको रुद्रपुरमा । शिक्षादीक्षा त्यतै भयो । त्यतिबेला नारी–शीक्षा अहिलेजस्तो सहज थिएन । मसँगैका कयौं छोरी–चेलीले स्कुलको अनुहार कस्तो हुन्छ, देख्नसम्म पाएनन् । मेलापात, चुल्हो–चौको परिधीभित्रै उनीहरूको जिन्दगी खत्तम भयो । स्वाहा भयो जीवन ।
मेरो पढाइको बाटामा परिवारले कुनै छेकबार लगाएन । निर्बाध पढ्न पाएँ । तर, परिवारले १५ वर्ष नबित्दै बिहेका लागि दबाब दिन थाल्यो । हुर्किएकी छोरीचेलीलाई ‘डाँडो कटाइहाल्नुपर्छ’ भन्ने पुरानो रोगले ग्रस्त थियो समाज । हाम्रो घर पनि अछुतो रहेन ।
बिहेका लागि अति नै दबाब आउन थाल्यो । प्रवेशिका उत्तीर्ण गरेकी छँदै थिएँ । उच्च शिक्षाको खुट्किलो उक्लिन बुटवल आएँ । बुटवलमा राजनीतिक रापताप चर्को थियो । अनेरास्ववियूमा संगठित भएँ ।
राजनीतिक लगावले साहित्यसँग उठबसमात्रै गराएन, सामाजिक विषमताका आयामसँग पनि चिनजान भयो । लुसुन, गोर्की, माओत्सेतुङ आदिलाई पढ्ने मौका मिल्यो । साहित्यिक आयामलाई छामें ।
अञ्चल कमिटीको उपाध्यक्षसम्म राजनीतिक यात्रा बढाएकी थिएँ । ०६२–६३ को राजनीतिक परिवर्तनपछि पार्टीमा नयाँ वर्गको बीजारोपण भयो । हुनेखाने र गरिखाने वर्ग समाजमा छँदै थिए । पार्टीभित्र पृथक् वर्गको अभ्युदय भयो– पैसा हुने र नहुने । पैसा नभएकाले मेरो राजनीतिक यात्रा त्यहीँ पूर्णविराम भयो ।
त्यसपछि मेरा सामुन्ने दुई विकल्प खडा भए । पहिलो— साहित्य साधनामा लाग्ने । दोस्रो— वैदेशिक रोजगारीको बाटो तताउने । मथिङ्गल मथ्दा–मथ्दा म दोस्रो विकल्पका लागि राजी भएँ ।
क्यानडा जान भनेर बाटो तताएको, नियतिले न्युजिल्यान्ड पुर्यायो । आँखाले नापेर नसकिने भूमण्डलभित्रका अनेकानेक दुःख, पीडा, दारिद्र्य, अभाव, निर्धनतासँग चिनजान गरायो ।
सुदूरपश्चिम आउलिस् !
यो देश महिलामैत्री छँदै छैन, कुनै पनि हिसाबले । अमुक महिला लेखकले कुनै कृति बजारमा ल्याओस्, तथाकथित समीक्षकहरूले टिप्पणी गरिहाल्छन्, “कसले लेखिदिएको ?”
महिलाले साहित्य लेख्नै सक्दैनन् भन्ने दीर्घरोग, मनोरोगबाट ग्रस्त छन् ती । लेखे पनि सासूको टोकसो, बुहारीको बुहार्तन, नन्द–आमाजूको पिरलो । स्त्री लेखनको दायरा त्योभन्दा फराकिलो देख्दै देख्दैनन् उनीहरू ।
‘कुमारी आमा’ लेखेपछि कतिपय महिला लेखकहरूले जिब्रो काढ्नुभयो । “महिलाले यौनको विषयमा कलम चलाउनै हुँदैन । यौनलाई अझै खोजी, रहस्य र कुतूहलको विषय बनाइनुपर्छ भन्ने जबर्जस्त मान्यता बोकेको उहाँहरूको अनुहारमा लज्जाभाव प्रकट भइहाल्थ्यो । कतिपय पुरुष साहित्कारहरूले ‘तपाईं आफैं कुमारी आमा हो ?’ भनेर प्रश्न गर्नुहुन्थ्यो । उहाँहरूसँग होइन, उहाँहरूको साहित्यिक चेतसँग बडो दया लागेर आउँथ्यो र निरुत्तरित हुन्थें म ।
त्यस्तै भयो २०७० सालमा । न्युजिल्यान्डबाट फर्किएपछि लगालगी तीन उपन्यास प्रकाशन गरें, ‘कुमारी आमा– ०६८’, ‘नांगो मान्छे– ०६९’, ‘कालो छाया– ०७०’ । ‘नांगो मान्छे’मा खासै टिप्पणी गरेनन् । ‘यौन लेखेर तसलिमा बन्न खोज्ने ?’, ‘रातारात हिट बन्नुपरेको छ है ?’ भनेर महिला साहित्यकारहरूले नै तीतो नपोखेका होइनन् । तर, ‘कालो छाया’को विषयवस्तु सुनेकै भरमा धेरैले कालो मुख लगाए ।
सुदूरका पहाडी जिल्लामा विद्यमान छाउपडी प्रथालाई केन्द्रीय चरित्र बनाएर उपन्यास लेखिएको थियो । सुदूरकै गन्यमान्यले ‘सुदूरपश्चिम आउलिस्’ भन्न भ्याए । कतिपयले दागा नै धरे । कतिपयले ‘कृति जलाउनुपर्छ, समाज भाँड्ने ?’ भनेर कटू प्रश्न गरे ।
तिनताक पनि सुदूरमा छाउपडी चर्को थियो । छाउगोडभित्र धूवाँमा पिल्सिएर, सर्पले डसेर ज्यान गुमाएका समाचार पत्रिकाको आमुख पृष्ठमा आउँथे । सहरका आँसुको खोला बग्थ्यो । दूरदराजमा पीडा ज्युँका त्युँ ।
तर, त्यहीँका बुद्धिजीवीलाई ‘कालो छाया’ पाच्य भएन । “छाउपडी हाम्रो प्रथा हो । हामीकहाँ स्त्रीलाई देवीतुल्य पुजिन्छ । विभेद छैन,” खुबै चर्को श्वरले बोले ।
तर, पाँच वर्ष पनि पर्खन परेन । अहिले तिनै अगुवाहरू आफैं कोदालोकोदाली बोकेर छाउगोठ भत्काउन हिँडेका छन् । गोठ त भत्काउलान्, छाउपडी भत्काउँछन् कि भत्काउँदैनन् ? आफ्नो दम्भ, पौरुष भत्काउँछन् कि भत्काउँदैनन् ? थाहा छैन ।
स्वार्थले गाँजेका समीक्षक
महिला सर्जकको कृति बजारमा आउँछ, पढ्दै नपढी देवत्वकरण र राक्षसीकरण शुरू भइहाल्छ । किताब पढेकै हुँदैन, ‘फलानोको किताब त झुर है’ भनेर हल्ला भइसकेको हुन्छ । यस्ता थुप्रै अनुभूति छन् मसँग । पाठकको आँखाले तानेका किताब पनि समीक्षकको चस्माले ठम्याएको हुँदैन ।
सबै समीक्षकलाई त एउटै डालोमा नराखौं, केही यस्ता समीक्षक छन् । स्वार्थ पूरा हुने देखेनन् भने कलमै चोप्दैनन् । बरु नकारात्मक टिप्पणी गर्दै, क्षुद्र बोली बोल्दै हिँड्छन् । केही सीप नचले सामान्यीकरण गर्छन्— यौन लेख्छे, बिकिहाल्छ नि ! त्यसले लेख्या हो र, कुनचाहिँले लेखिदियो !
नारीको अलग्गै अस्तित्व स्वीकार्नै सक्नुहुन्न उहाँहरू । चिन्तक, समालोचक भएर के गर्नु, नारीलाई हेर्ने औसत आँखै छ उहाँहरूको पनि । समाज परिवर्तन गर्नुपर्ने, लेखक, समीक्षको यो दुर्दशा र अन्तर्दशा देख्दा आफैंलाई दया लागेर आउँछ ।
(अक्षर काकासँगको कुराकानीमा आधारित)