site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
माछो, माछो— भ्यागुतो
Sarbottam CementSarbottam Cement

– विवेक ओझा


म जादुगर होइन, जसले माछालाई भ्यागुतो बनाउन सक्छ । तर, समय सबथोक हो । यो जादुगर पनि हो । समयले जसलाई जेसुकै बनाइदिन सक्छ । शाकाहारीलाई आदमखोर, सागरलाई मरु वा पानीलाई आगो बनाइदिन सक्छ समय । ठ्याक्कै त्यही नभए पनि त्यस्तै परिस्थिति निर्माण गर्न सक्छ । यो त्यस्तै समयको सिर्जित स्मृति हो, जसको मलाई सम्झना भइरहन्छ । शायद, त्यो स्मृतिबाट मैले केही न केही सिकेको छु । केही न केही तवरले प्रभावित वा दुर्घटित छु । वा मेरो व्यवहारको कुनै एक कण बन्न त्यो स्मृतिको कुनै मसिनो भूमिका छ ।

० ० ०

Prabhu Bank
Agni Group
NIC Asia

त्यो बेला म दुब्लो र सानो थिएँ । त्यस्तै ३–४ मा पढ्थें । अनुहारमा नाकमात्र देखिन्थ्यो । त्यही सेरोफेरोको कुरा हो । अझ प्रष्टसँग भन्नुपर्दा साउन–भदौका दिनहरूको सम्झनाको पोको हो । त्यो सेरोफेरोमा पनि हाम्रो माछा मार्ने सोखको किस्सा हो यो । कुनै बलियो नसाजस्तै सोखको कुरा होइन । बर्खाले जन्माएको सोख वा झरीसँगै वर्षिएको सोखको कुरा मात्र हो । बच्चामा सोखहरू पाहुनाजस्तै आइरहन्छन्, गइरहन्छन् । झरिरहन्छन् र बगिरहन्छन् । मौसमअनुसार फेरिन्छन् सोखहरू ।

हेमराज (हेम), देवानन्द (देवा) र मेरो कान्छो भाइ (राजीव) प्रायः सँगै खेल्थ्यौं । हाम्रा घरसमेत जोडिएका थिए । एउटै खाले उमेरका भए पनि देवा हामीभन्दा पातलो र होचो थियो । तर, हाम्रो तुलनामा ऊ निडर र छरितो थियो । ऊ नै सबै बल्छीहरूमा गड्यौंला राख्थ्यो । उसले गड्यौंला राखेको बल्छीमा माछा परे उसको त्यो माछोमा हक लाग्थ्यो । देवाबाहेक अरु बल्छीमा गड्यौंला छिन्टिन सक्दैनथ्यौं । त्यसैले उसको शर्त स्वीकार्नु शिवाय अरु उपाय हुन्थेन ।

Global Ime bank

गड्यौंलाको एक पुछारमा बल्छीको तिखो टुप्पोले छिन्टिदै ध्यानसँग मिलाउनुपथ्र्यो । बल्छीको तिखो टुप्पोले चस्स छिन्टिदै गर्दा गड्यौंला खुब छट्पटाउँथ्यो । दुई औंलाको बन्धनबाट फुत्किन खोज्थ्यो । मलाई अझै गड्यौंलाको सकसपूर्ण छटपट याद आइरहन्छ । गड्यौंलाको चित्कार सुनिने भए त्यो समेत कानहरूमा गुञ्जिइरहन्थ्यो शायद । जति गड्यौंलाहरूलाई हामीले छिन्टियौं, ती खुबै चिच्याए होलान् । बाँच्नका लागि गुहार मागे होलान् । तर, ती चीत्कार चुरोटको धूवाँ आकाशमा बिलाएजस्तै बिलाए । ती आलापविलाप पुग्न सकेनन् हाम्रा कानसम्म । अहो, हाम्रो जाबो मौसमी रहरले कति गड्यौंलाले आफ्नो जीवन गुमाउनुप¥यो । के गड्यौंलाको जीवन जीवन होइन ? तिनीहरूमा पनि त आत्मा हुँदो हो । ती तमाम गड्यौंलाको आत्माले चीर शान्ति पाऊन्, ढिलै भए पनि कामना ।

घाम डुब्नुअगाडि सबै मिलेर नहरमा बल्छी थाप्न जान्थ्यौं । नहरको किनारमा देवा सबैका बल्छीमा गड्यौंला राख्थ्यो । मसिना छेस्काका किला बनाउँथ्यो । र, नहर किनारमा लहरै गोब्थ्यो । त्यसमा बल्छीको डोरी बाँध्थ्यो । शुरुमा ऊ आफ्नो बल्छी बाँध्थ्यो अनि मात्र हाम्रो पालो आउँथ्यो । मानौं नदी गोठ हो, बल्छी दाम्लाहरू हुन् । फरक के मात्र थियो, गोठको दाम्लो पशुहरूलाई बन्धन÷सुरक्षा थियो, बल्छी मृत्युरूपी धराप थियो । रातभर बल्छीलाई नहरमै छोडिदिन्थ्यौं । बिहान स्कुल जानुभन्दा अगाडि थापेको बल्छी हेर्न जान्थ्यौं । यो एक सिलसिला थियो । यही सिलसिलामा थुप्रै दिनरात बिते तर कहिल्यै माछा फसेन ।

देवा प्रायः निधार खुम्च्याउँदै माछाको होशियारीबारे सुनाउँथ्यो, “बाठो माछो रै’छ बे । फेरि गड्यौंलो चुँड्दैचुँड्दै खाएछ ।”

“हो र ?” हामी रित्तो बल्छी हेथ्र्यौं । त्यसमा राखेको गड्यौंला हुन्थेन । गड्यौंलाको गन्ध, मृत्युको गन्धमात्र बचेको हुन्थ्यो ।

देवाले गरेको माछाको बयान निराशाजनक हुन्थ्यो । सधैं बाठा माछाहरू आए । निराशाका थुप्रै बिहानहरू ओइलिए । तर, हामीले आश मारेनौं । सबै÷सधैं माछाहरू कहाँ जालबाट उम्कन सक्छन् र ? जसरी भोको मान्छेको होश हुँदैन, त्यसरी नै भोको माछाको समेत होश हुँदैन । भोक सम्पूर्ण जीवनका लागि पीडादायी नै रहन्छ । कुनै रात आखिर भेट्नु थियो बल्छीले भोको माछो । आखिर त्यो बिहान आउनु थियो । किनकि लगातारको प्रयासले बिर्सेर पनि कुनै दिन लक्ष्य भेट्छ ।

० ० ०

एक बिहान । सधैंझैं माछा फस्यो कि भनी नहरतर्फ लाग्यौं । त्यो शनिबार थिएन । नहर उसैगरी अर्धधमिलो बगिरहेको थियो । किनारको हरियो घाँसमा शीतका थोपा टल्किरहेका थिए । किनारको घाँस कुल्चँदै, पातमाथिको शीत बिथोल्दै बल्छीहरू थापेको ठाउँतर्फ गयौं । बल्छी थापेको ठाउँनेर पुग्दा केही फरक दृश्य देखियो । एउटा बल्छीको धागो जोरले हल्लिँदै थियो । त्यो मेरै बल्छी थियो । त्यो झट्काले काठको सानो किलो (छेस्को) समेत थोरबहुत हल्लिन्थ्यो । अरुलाई त्यति अनुभव थिएन । तर, देवाले शुरुमै जानिहाल्यो । ऊ तिखो ठाडो स्वर चढायो, “विवेक, तेरो बल्छीमा माछो प¥यो बे ।”

हामी सबै त्यो किलो वरिपरि झुम्मियौं । देवाले नाइलनको डोरी चोर औंलाले देखाउँदै चिच्यायो, “केटा हो, माछा फसेपछि फुत्किन खोज्छ । अनि यसरी डोरी झट्किन्छ ।”

मैले थप ध्यान दिएँ । डोरी झनझन् हल्लिएझैं लाग्यो । जुनसुकै कुरा होस्, ध्यान बढ्दै जाँदा त्यसप्रतिको बुझाइ पनि बढ्दै जान्छ । वा, मानसिकताको निर्माणले प्रष्ट हुँदै गरेको भ्रम सिर्जना हुन सक्छ । त्यो अवस्था के थियो ? प्रष्ट वा भ्रम ? शायद मिश्रित अवस्था थियो ।

देवाले बिस्तारै डोरी तान्न थाल्यो । माछा छ कि छैन भन्दै हामी हेरिरह्यौं । कयौं दिन माछा नपरेरै बितेकाले शंका जिउँदै थियो । जब देवाले सबै डोरी तान्यो, सबैको उत्सुकता मेटियो । देवाको अनुमान सत्य भयो । बल्छीमा साँच्चैको माछो थियो । माछो ठूलो, चेप्टो र चिल्लो थियो । धेरै दिनको असफलतापछिको प्राप्ति थियो त्यो ।

त्यो माछो भोकले आत्तिएको थियो शायद । पौडिँदै पौडिँदै बल्छीको नजिक आयो होला । गड्यौंला देख्यो वा त्यसको बासनामा लोभियो होला । ताजा गड्यौंला ठान्यो होला । भोकमाथिको धैर्य छोडर क्वाप्प खाइहाल्यो । दुःस्फल, उसको मुख छिन्टियो । र, बल्छी मुखमै अड्कियो । माछालाई थाहा भएन गड्यौंलाभित्रको फलामको बल्छी । फसिसकेपछि मात्र जान्यो होला गड्यौंलाको जलपमा रहेको पासो । ओहो ! अहिले सम्झिँदा लाग्दैछ— म कति पापी हुँ ! कसरी कसैको भोकमाथि÷कमजोरीमाथि बुट बजारेछु । शायद त्यसकै पापले धेरैपटक अदृश्य बल्छीहरूमा फसेको छु । म पनि यहाँ कसैको लागि भुरा माछा रहेछु । यो दुनियाँ केलाउँदा लाग्छ— मान्छेहरू पनि माछा हुन् । शायद ईश्वरले पालेका माछा । धर्ती पनि कुनै पोखरी हो ।

खैर, माछा देख्नेबित्तिकै सबैका आँखा खुशीले उज्यालिए । वास्तवमा दुनियाँ यही रहेछ, कसैको मृत्यु, कसैको उत्सव । माछा त्यहाँ रुँदै छट्पटाउँदा हामी ढक्क फुलेका थियौं, खुशीले । त्यसलाई सफलता ठानेका थियौं हामीले । समय यही मानेमा पनि जादुगर हो, यो सबैलाई जित्न दिँदैन । सबैलाई हाँस्न दिँदैन । हाँसोसमेत खोस्नुपर्छ यहाँ । चाहे आफू जित्न अरुलाई हराएर होस्, अरुलाई पछारेर आफू उठ्नलाई होस् । अरुलाई पन्छाएर आफू स्थापित हुनलाई होस् या आफू अघाउन अरुलाई भोकै राखेर होस् । दुनियाँ ‘म्युजिकल चेयर’ खेलजस्तै रहेछ । दुःखहरूलाई अरुको भागमा हाल्नैपर्छ आफू दुःखबाट जोगिन । जानीजानी वा नजानिँदो गरी । साँच्चै यहाँ एक नरोई एक हाँस्न सक्दो रहेनछ । एक नमरी अर्को बाँच्न सक्दो रहेनछ ।

खैर । म, हेम र राजीवले देवाका क्रियाकलाप हेरिरह्यौं । देवाले माछो समात्यो । त्यो उसको हातबाट चिप्लिन खोजिरह्यो । बल्छी माछाको मुखबाट निकाल्दै बोल्यो, “यो त शहर माछा हो ।”

मलाई त्यतिन्जेल माछाको नाम ‘शहर’ हुन्छ भनी थाहा थिएन । अँ, माछा बल्छीबाट अलग्गिएर पनि मरेन । बरु बलियो गरी समातेको देवाको हातबाट फुत्किन खोजिरह्यो । माछा पानीबिना त्यति लामो बाँच्न सक्छ, मेरो कल्पनामा समेत थिएन ।

देवाले हातबाट फुत्किन सक्ने डरले हतारिँदै भन्यो, “यस्लाई पट्किम् ?”

म हतारिएँ, “नाइ नाइ ।”

देवाले छड्के गरी मतर्फ हे¥यो । सोध्यो, “के गर्ने त ?”

ममा अञ्जान किसिमले करुणा जागिसकेको रहेछ । सबैलाई पालैपालो हेरें । लामो सास फेर्दै भनें, “यसलाई पाल्ने ।”

“काँ ?”

“नल्काको पानी जम्मा हुने खाल्डोमा ।”

देवाले तुरुन्तै प्रतिक्रिया जनाइहाल्यो, “अब यो बाँच्दैन । यसलाई खानुपर्छ । यसमा मेरो भाग पनि छ । पोलेर खाँदा बहुत मीठो हुन्छ यो ।”

स्कुल जान तयार हुनु थियो । त्यसैले नहरबाट फर्किनु थियो । त्यो कुरालाई मध्यनजर गर्दै मैले सबैसामु आग्रह गरें, “अहिले यसलाई त्यै नल्काको खाल्डोमा राखौं । स्कुलबाट आएपछि केही गरौंला ।”

हेमले थप्यो, “यसलाई मेरो घरको बाल्टिनमा राखौं । स्कुलबाट आएपछि पकाउँला ।”

हेमको कुरामा हामी सहमत भयौं । नहरबाट हाम्रा घरहरू सय–दुई सय मिटरको दूरीमा थिए । दौड्दै हामीले माछालाई हेमराजको नल्कासम्म लग्यौं । मैले बाल्टी नक्लामुनि राखें । हेमराजले हतारहतार नल्का खिच्यो खच्खच्खच् । पलभरमै बाल्टी भरियो । बाल्टीको पानीमा देवाले माछा राख्यो । माछा पौडिन थाल्यो सुस्तरी । अहो ! प्राण कहाँ त्यति सजिलै जाँदो रहेछ ? उसो त कहिलेकाहीँ फुस्स भइदिन्छ प्राण । भन्नुपर्दा, प्राणको भर हुँदैन । यसको भर पर्नु हुँदैन । केही गहिरा चाहनाहरू छन् भने त्यो सकभर पूरा गरिहाल्नुपर्ने रहेछ । त्यो माछा, जसलाई हामीले एउटा बाल्टीमा राख्यौं, त्यसका केही इच्छाहरू नहरमै छुटे होलान् ।

बाल्टीमा माछा सुरक्षित राखेर हामी छुट्टियौं । खाना खाएर स्कुलतर्फ लाग्यौं । त्यो दिन, स्कुल जाँदै गर्दा घरतर्फ फर्किने हतारोले छोइरहेको थियो । केही कुराहरू क्या अजीब काउकुती लगाउँछन् कि शुरु नहुँदै अन्त्यको हतारो आइलाग्छ ।

स्कुलमा मिल्ने साथीहरूलाई छानीछानी सुनाइयो । कसैलाई पटक–पटक सुनाइयो, “अरे बे ! कति ठूलो माछो समात्यौं ।”

“कत्रो ?”

दुबै हत्केलाले गोलो बनाउँदै लम्बाइ देखाउँदै सुनाइरहें, “यत्ति मोटो । यत्रो ।”

त्यो दिन छुट्टी हुने समय पर्खिनुप¥यो । मलाई कहिल्यै स्कुल समय कटाउन गाह्रो/हतारो हुन्थेन । पहिलोपटक स्कुलको समय बहुतै लामो लाग्यो । सरहरूले पढाइरहँदा अक्षरभन्दा माछा पौडिरह्यो दिमागमा । माछा स्टिलको बाल्टीमा पौडेको चित्र आइरह्यो कल्पनामा ।

मैले हतार गरे पनि पुरानै समयमा छुट्टी भयो । मैले हतार गरेर कहाँ छिटो कट्छ र समय ? बिदाको घण्टी टिनिनिनी बजेपछि त्यही रफ्तारमा दाइभाइ घरतर्फ हान्नियौं । बाटोमा माछाकै बारे मात्र कुरा ग¥यौं । माछा ज्युँदो होला कि नहोला भनी बारबार दोहो¥याइरह्यौं ।

घर पुगेर फटाफट पोशाक बदल्यौं । करेसाबारी हुँदै ट्वाइलेट पछाडिबाट हेमराजको नल्कामा पुग्यौं । शुरुमा नल्काको छेउमा राखेको बाल्टी खोजे आँखाले । चारैतिर नजर घुमाउँदा पनि बाल्टी कतै देखिएन । अनुमान गरें— साथीहरूले भान्सामा पकाउन थालिसके । हतारिँदै हेमको भान्सातर्फ एक–दुई पाइला चालें । ठ्याक्कै हेम झुल्कियो, भान्सा पछाडि, नल्का अगाडि ।

“माछा खै त रे ?”

हेमराजले अनुहार निन्याउरो देखियो । लाजका केही धर्साहरू अनुहारमा कोरिए । अक्मकाउँदै बोल्यो, “माछा त बाजेले खाए ।”

एकैछिन पत्याइनँ । उसलाई कसम खान लगाएँ ।

“भगवान कसम भन् त ।”

“भग्वान् कसम ।”

शंका लाग्यो— हेमराजले माछा खाएको हुनुपर्छ । वा उसले चाखेको सम्म छ । फेरि कसम खान लगाएँ, “माँ कसम, तैंले चाखेको छैनस् ?”

उसले दुई औंलाले गला छोयो, “माँऽऽ कसम ।”

तीतो पत्याएँ । एकैछिन मौनता नाच्यो । त्यही समय देवा उज्यालो अनुहार बोकेर हतारिँदै आइपुग्यो । ऊ टाईसहित स्कुल पोशाकमै थियो । उसले सोध्नुअगावै मैले सुनाइदिएँ, “यसका बाजेले माछा खाइदिए बे ।”

शुरुमा देवाले पत्याएन । उसले पनि हेमलाई कसम खान लगायो । अनि, एकाएक ऊ हामीजस्तै निराश भयो ।

हामीले हेमसँग थप कुरा गरेनौं । आँखा सन्काउँदै तीनै जना फर्कियौं । हेमलाई बेवास्ता गरेको उसले महसुस गर्‍यो शायद । हेम हामीसँग आएन ।

देवा र मेरो घरबीच साँघुरो खाली ठाउँ छ । त्यहाँ भित्तामा आड लागेर हेमराजका बाजेको कुरा काट्यौं । थपथाप पारी नकारात्मक टिप्पणी गर्‍यौं । हेमराजलाई समेत दोष लगायौं, “त्यो मुला आफ्ना बाजेसँग मिलेको छ ।”

गफिँदै थियौं, बाल–दुखेसाहरू पोख्दै थियौं । कानमा सन्दर्भ सुहाउँदो लयबद्ध स्वर गुञ्जियो, “माछो–माछो भ्यागुतोऽऽ । माछो–माछो भ्यागुतोऽऽ ।”

झट्ट आवाज आइरहेको ठाउँतर्फ हेरें । पल्लो घरका बटाला अंकल आफ्नो सानो छोरासँग खेल खेलिरहेका थिए । त्यो बेला बटाला अंकलसँग मनमनै रिस उठ्यो । समय यो मानेमा पनि जादुगर हो, यसले घटनासँगको तालमेल अद्भूतसँग मिलाउँछ ।

अहिले आएर लाग्दैछ— त्यो माछाको मृत्यु बाजेको हातबाट हुनु रहेछ । हामी केवल मृत्युको मोहरा बनेका रहेछौं । शायद पुनः जीवन दिने मोहरा हुन सक्थ्यौं ।

० ० ०

प्रिय मित्रहरू/शत्रुशरू

आजभोलि त्यो पुरानो फुच्चे कतै छैन । त्यो दुब्लो फुच्चे समयका बितेका पलहरूमा हराइसक्यो । मानौं जीवन कुनै पुस्तक हो, जो पढ्दै जाँदा अक्षरहरू मेटिँदै जान्छन् । र, उसको च्याप्टर धेरै पहिले क्लोज भइसक्यो । ती अक्षरहरू कतै उडिसके । अब कसैले चाहेर पनि उसलाई भेटाउन सक्दैन । म स्वयं त्यो फुच्चेलाई भेटाउन सक्दिनँ, जो मैभित्र घुलेर हराएको छ ।

एउटा कुरा सुन, यहाँ जो–कोही माछा हुन सक्छ ∕ अनेकन मोडहरूमा कसैले बल्छी थापेको हुन सक्छ, अवसर सुनौलो जलप लगाएको पासो हुन सक्छ । हिउँले पोल्दा र फूलले रेट्दाजस्तो नमजा केही हुँदैन । त्यसैले त, सबैभन्दा प्रिय वस्तु ‘जीवन’ले सुम्सुम्याउँदै निम्त्याउने ‘मृत्यु’जस्तो कुरूप कुरा केही छैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC