site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

सत्तारुढ दलका नेताहरू सरकार वा तिनको विरोध हुनेबित्तिकै राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्र भएको देख्छन् । देख्नेमात्र हैन सार्वजनिकरूपमा अभिव्यक्त पनि गरिहाल्छन् । तिनको दाबी तिनैका कार्यकर्ताबाहेक अरूले बिरलै पत्याउँछन् । कसैले नपत्याए पनि षड्यन्त्रको जप गरिरहनेमध्ये एक हुन् – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुईमध्येका एक एक अध्यक्ष पुष्पकमल दाहाल । केही पहिले उनले आफ्ना कृपापात्रलाई पार्टीका पदमा स्थापित गर्न खोज्दा कार्यकर्ताले प्रकट गरेको असन्तुष्टिलाई कम्युनिस्ट पार्टी एकीकृत हुन नदिने ‘देशी विदेशी षड्यन्त्र’ भनेका थिए । हालै उनले निर्मला हत्यालगायत महिलामाथि भएका हिंसाविरुद्ध प्रकट नागरिक आक्रोशलाई पनि ‘षड्यन्त्र’को संज्ञा दिएका छन् । पार्टीका कार्यकर्ताको चित्त बुझाउन नेताले फैलाउने भ्रम उनीहरूबीचको विषय हो । तर, न्याय खोज्ने नागरिक प्रयासलाई षड्यन्त्र भन्ने सत्तारुढ दलका अध्यक्षको अभिव्यक्ति भने चिन्ता र आपत्तिको विषय हो ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अनुसन्धानमा खटिएका प्रहरीले नै  घटनाको दसी प्रमाण मेटाए । मारिएकी बालिकाका आमाबाबुलाई लास बुझ्न र दाहसंस्कार गर्न जिल्लाका प्रहरी प्रमुखले नै दबाब दिए । यसपछि कञ्चनपुरका नागरिक स्थानीय प्रहरीका विरुद्ध सडकमा उत्रेका हुन् । नागरिकको विरोधको आवाज सुन्नुको साटो प्रहरी प्रशासन दमनमा उत्र्यो । प्रदर्शनकारीमाथि प्रहरीले गरेको गोली प्रहारबाट एक जना किशोरको ज्यान गयो । अरू बीसौं जना घाइते भए । सरकारले घटनाको जाँच गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई खटायो । प्रहरीले मानसिक अवस्था असन्तुलित भएका व्यक्तिलाई जबर्जस्ती अभियुक्तका रूपमा देखाएपछि जनता झन् आक्रोशित भए । त्यसैपछि देशभर निर्मलाको बलात्कार र हत्याको विरुद्धमा प्रदर्शन भइरहेका छन् । सायद यसैलाई दाहालले षड्यन्त्र भनेका हुन् ।

 
यही घटनाका बारेमा प्रधानमन्त्रीले टेलिभिजन कार्यक्रममा ‘झुटो बोले’ भने गृहमन्त्रीले संसद्लाई समेत ढाँटे । त्यसपछि संसद्, सडक र सञ्चार माध्यममा सरकारको आलोचना र विरोध बढेको हो । सचेत नागरिकको विरोधको स्वरमा षड्यन्त्र देख्नेहरू कतै यही निहुँमा नागरिकका अधिकार खोस्ने कपटी खेलमा त छैनन् भन्ने शंका उत्पन्न भएको छ । समाचार प्रकाशित गर्दा पत्रकारलाई असम्बन्धित ऐन लगाएर थुनामा राख्न थालिएको छ । मन्त्रीलाई कालो झन्डा देखाउँदा नागरिकलाई पक्रेर थुनिन्छ र उनको हिरासतमै रहस्यमय मृत्यु हुन्छ । हिरासतमा मृत्यु भएको व्यक्तिको शव परीक्षण गर्नसमेत प्रहरी आनाकानी गर्छ । विधिको शासनको अवज्ञा गर्ने यस्ता सरकारी क्रियाकलापको नागरिकले विरोध गर्दा ‘षड्यन्त्र’ देख्नु दृष्टि दोष हो । 

नाटककार बालकृष्ण समको नाटक ‘प्रल्हाद‘ नाटकमा एउटा प्रसंगमा प्रल्हाद भन्छन् – जो बढी डराउँछ यसैलाई डरका धेरै नामको सम्झना हुन्छ । नेपालको राजनीतिमा पनि जो बढी षड्यन्त्रकारी छ यसैले षड्यन्त्र शब्द बढी प्रयोग गर्छ । सत्तारुढ दलका अध्यक्षको अभिव्यक्ति भएकाले यसलाई सरकारी धारणा नै मान्नुपर्ने हुन्छ । यसैले सरकारको यो धारणा लोकतन्त्रका विरुद्ध थालिएको षड्यन्त्रकै एउटा कडी हो कि भन्ने सन्देह उत्पन्न भएको हो । लोकतन्त्र सिध्याउने सरकारको नियत हैन भने जिम्मेवार पदमा रहेकाहरूले पीडितलाई थप पीडामा पार्ने र जनमानसमा झ्म फैलाउने प्रकारको अभिव्यक्ति नदिऊन् । नत्र, सरकार नै षड्यन्त्रकारी साबित हुनेछ । षड्यन्त्रको सिद्धान्त धेरै लामो पक्कै टिक्नेछैन ।       
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC