संसद्मा दुईतिहाइ बहुमत भएको सरकारविरुद्ध कसैले षड्यन्त्र गर्यो वा सरकार आफैँ कमजोर भयो भन्ने विषयमा सरकारभित्र र बाहिर पनि प्रशस्तै बहस भएको छ । शान्ति सुरक्षा र विभिन्न ऐन कानुनका कारण सरकारको प्रशस्त आलोचना भइरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकार परिवर्तन हुने हल्ला चलाएर सरकारलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । तर, पत्र पत्रिकाले भने कञ्चनपुरमा बलात्कार र हत्या गरिएकी निर्मला पन्तसहित अन्य घटनामा महिला अधिकार, मानव अधिकार र जनताका अधिकारको हनन् भएकोले ओली सरकारले जनताको विश्वास गुमाएको आरोप लगाएका छन् ।
गोरखापत्रको भदौ २४ गते आइतवारको अंकमा प्रधानमन्त्रीको धारणा मुख्य समाचार बनेर आएको छ । समाचारमा जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारबाट केही मन्त्री हट्दैछन् भन्ने हल्ला चलाएर सरकारलाई कमजोर पार्न खोजिएको आरोप लगाएको उल्लेख छ ।
हिमालय टाइम्सले यही समाचारलाई फरक रूपले प्रस्तुत गरेको छ । टाइम्सका अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्ष बसेर मन्त्रीहरूको कामको समीक्षा भइरहेको भन्दै अघिल्लो मंगलवार दिएको वक्तव्यको उत्तर ओलीले आइतवार दिएका हुन् । टाइम्सको समाचारका अनुसार ‘सरकारलाई अस्थिर बनाउन चाहनेले चलाएको हल्ला’ भन्ने संकेत दाहालतर्फ गरिएको हो ।
त्यस्तै ओली सरकारका लागि अर्को ठूलो समस्या कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको विषय हुनपुगेको छ । यस घटनाले भने सरकार निकै कमजोर भएको छ तर सरकार यो कुरा मान्न तयार छैन । नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुरको घटना सरकारलाई बदनाम गर्नका लागि चर्काइएको अभिव्यक्ति दिएपछि उनको सामाजिक संजालमा व्यापक निन्दा भएको छ । निर्मला पन्त प्रकरणमा बनाइएको उच्चस्तरीय सरकारी समितिका एक सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएपछि सरकार थप समस्यामा परेको थियो । यस विषयलाई दैनिक पत्रिकाले मंगलवारको अंकमा निकै महत्त्वका साथ प्रकाशित गरे पनि केसीले तुरुन्तै आफू गृहमन्त्रीसँग आश्वस्त भएको भन्दै राजीनामा फिर्ता लिएका थिए । तर, उक्त घटनामा प्रहरीले मुख्य दोषी भनेर प्रस्तुत गरेको दिलीप विष्टको डीएनए सो घटना गराउने अपराधीसँग नमिलेको कारण दैनिक पत्रिकाले पुनः एकपल्ट प्रहरीको खोजबिनको विषयमा आवाज उठाए । दिलीप विष्ट निर्दोष भएसँगै निर्मला पन्तका बाबुआमा न्यायको खोजीका लागि काठमाडौँ आएको घटनालाई पनि पत्रपत्रिकाले निकै महत्त्व दिए । नयाँ पत्रिकाले ‘४८ दिनपछि अनुसन्धान शून्यमा’ शीर्षक दिएर प्रधानमन्त्री तथा गृहमन्त्रीको आश्चर्यजनक संवेदनहीनता भन्ने उपशीर्षक दियो । नयाँ पत्रिकाले पटकपटक दिग्भ्रमित गर्ने प्रहरी अधिकृतलाई कारबाही होइन सरकारले संरक्षण र प्रोत्साहन दिएको आरोप पनि लगायो । अन्नपूर्ण पोस्टले ‘निर्मला हत्यामा प्रहरी कार्य शंकास्पद’ शीर्षकमा समाचार दियो ।
बिहीबारको कान्तिपुरले मुख्य समाचार बनायो ‘प्रहरीबाटै प्रमाण नष्ट’ । नागरिकले लेख्यो ‘एसपी र डीएसपीको डीएनए जाँच गर्न माग’ । नयाँ पत्रिकाले निर्मलाकी आमाले प्रधानमन्त्री ओलीले एकतर्फी कुरा सुनेर एकोहोरो वक्तव्य दिएको आरोप लगाएको समाचार प्रकाशित गर्यो । अन्नपूर्ण पोस्टले शुक्रबारको मुख्य समाचारको शीर्षक ‘प्रहरी नै लुकाउँछ बलात्कार घटना’ राख्यो । नागरिकले शुक्रबारको पत्रिकामा ‘अनुसन्धानमा संलग्न प्रहरीलाई निलम्वन माग’ शीर्षकको समाचार बनायो । साथै एसपी विष्टसहित तीन जनाको डीएनए परीक्षणका लागि लगिएको समाचार पनि प्रकाशित गर्यो । यही समाचार हिमालय टाइम्सले पनि मुख्य बनायो । कान्तिपुरले अपराध कबुल गराउन दिएको यातनाको विषयमा समाचार लेख्यो ।
यसबीच अधिकांश दैनिकले प्रहरीको नियत र खोजमा शंका गर्दै सम्पादकीय प्रकाशित गरेका छन् ।
यी सबै समाचारले सरकारको लोकप्रियता अत्यन्त कमजोर भएको पुष्टि गरेको छ । तर, सरकार भने आफूमाथि षडयन्त्र भएको आरोप लगाउँदै कुर्लन थालेको छ । यसै सन्दर्भमा पत्रकार अच्युत वाग्लेले कान्तिपुरमा प्रकाशित लेखमा सरकारप्रति मुख्यमन्त्रीको असन्तोष, नेकपाभित्रैको गुटबन्दी आदिका कारण प्रधानमन्त्री डेढ दुई घन्टा लामो भाषण गर्दै आफ्नो उपलब्धिको बखान गर्दै हिँडेका छन् भन्ने धारणा व्यक्त गरेका छन् ।
सेना भित्र, न्यायालय बाहिर
गत साता मुख्य दुईवटा नियुक्ति भए । आइतवार प्रधानसेनापति पूर्णचन्द्र थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले दर्ज्यानी चिन्ह लगाएर पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । अर्को दिन सोमवार संसदीय सुनुवाइ विशेष समितिले प्रधान न्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मतिले स्वीकृत गर्यो । दैनिक पत्रिकाले थापाको समाचारलाई सोमवारको दिन दोस्रो वा तेस्रो पृष्ठमा प्रकाशित गरे भने मंगलवारको दिन मिश्रको समाचार सबै पत्रिकाले मुख पृष्ठमा र धेरैले प्रमुख समाचार नै बनाए । गोरखापत्रले भने थापाको समाचारलाई प्रथम पृष्ठमा नै प्रकाशित गरेको थियो । थापाको समाचारले पहिल्यै प्रथम पृष्ठमा स्थान पाएको हुनाले दज्र्यानी चिन्ह पाएको समाचारले भित्री पृष्ठमा स्थान पाएको हुनसक्छ ।