‘‘ओशो कहिल्यै जन्मेनन्, कहिल्यै बितेनन्
डिसेम्बर ११, १९३१ देखि जनवरी १९, १९९० सम्म यो पृथ्वी ग्रह घुमे ।’’
यस्तो लेखिएको हुन्छ ओशोको समाधिमा । तर, ओशोको सन्देश अमेरिकी भूमिबाट विश्वभर फैलाउने कल्पना बोकेर बसाइएको ओरेगनस्थित रजनीशपुरमको बस्ती भने १९८२ मा सुरु भएर १९८५ मै उठ्छ ।
अमेरिकी भूमिमा ओशो र ओशो प्रेमीहरुको बस्ती रजनीशपुरमको छवि राम्रो छैन । ओशो र उनकी विवादास्पद शिष्या मा आनन्द शीलामाथि लगाइएका गम्भीर आरोपहरु प्रमाणित भएका छन् । आफूमाथि लागेका सम्पूर्ण आरोप स्वीकार गर्ने र उनलाई देश छोड्न अनुमति दिने ‘प्लि बार्गेन’ सम्झौता गर्दै ओशो मुक्त हुन्छन् र जन्मेको देश भारत फर्कन्छन् । अमेरिका नछोडेको भए उनले बाँकी जीवन जेलमै बिताउनुपर्ने थियो । ।
ओशोले भौतिक शरीर छाडेको झन्डै तीस वर्ष हुन लाग्यो तर उनको आग्नेय विचार र दार्शनिक चिन्तन अहिले पनि सान्दर्भिक मानिन्छ । करोडौं ओशोप्रेमी उनको ध्यानविधिको प्रयोग गर्छन् ।
ओशोको वास्तविक जीवन कथामा आधारित फिल्मको पटकथामा अमिर खानले अभिनय गर्नेगरी बलिउड तयार हुँदै गर्दा अमेरिका र पश्चिमी संसार अहिले ओशो विरोधी बन्दै गएको छ । कारण हो – नेटफ्लीक्समा ओशोबारे गत मार्चदेखी ‘स्ट्रिमिङ’ भइरहेको ‘वाइल्ड वाइल्ड कन्ट्री’ नामको ६ भागमा विभाजित वृत्तचित्र (डकुमेन्टरी ) । ओशोको विचारबारे पहिले कहिल्यै जानकारी नराख्नेले पनि सामाजिक सञ्जालमा ओशो विरोधी विचार सम्प्रेषित गर्दैछन् । तपाईँले सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिमा ‘वाइल्ड वाइल्ड कन्ट्री’ ह्यासट्याग गरेर खोज्नुभयो भने देख्नुहुनेछ ओशो र तत्कालीन रजनीशपुरमबारेका नकारात्मक प्रतिक्रियाहरु ।
ओशोकी विवादास्पद शिष्या तथा निजी सचिव मा आनन्द शीला जीवनको उत्तरार्धमा दोस्रोपटक चर्चाको शिखरमा पुगेकी छिन् । मा आनन्दशीलाका प्रशंसक र आलोचक सामाजिक सञ्जालमा बढ्न थालेका छन् । एकपछि अर्को गर्दै विभिन्न पत्रपत्रिकाले उनका अन्तर्वार्ता प्रकाशित गरिरहेका छन् ।
ओशोसँग विद्रोह गरेर मा आनन्द शिला छुट्टिएकी बेलै उनको चर्चा चुलिएको थियो । ओशोबारे लेखिएका किताबहरु या पत्रिका तपाईंले पढ्नुभएको छ भने तीनमा लेखिएका अप्रमाणित कथनअनुसार अमेरिकाको रोनाल्ड रिगन सरकारको षड्यन्त्रमा ओशो जेल परेको, उनलाई थेलियम नामको मन्द विष खान दिइको र त्यसैका कारण ओशोको मृत्यु भएको जिकिरको सम्झना होला। अमेरिकी प्रशासनले ओशोमार्गी वा ओशो कम्युनलाई अर्कैरूपमा बुझेको छ – अमेरिकाका थुप्रै कानुनको उलंघनकर्ताको रुपमा । रजनीशपुरमका सञ्चालकहरुमाथि लगाइएका आरोपहरुमध्ये ७ सय ५० जना मानिसलाई एकैपटक असर पार्नेगरी गरिएको ‘बायोटेरोरिजम’, अध्यागमन कानुनको उल्लंघन, हत्या प्रयास र हातहतियार तथा खरखजानासम्बन्धी अभियोग मुख्य रहेका छन् । पोर्टल्यान्डस्थित अदालतले उनीहरुमाथि लागेका अभियोगमा सुनुवाइ गर्छ र त्यसपछि अमेरिकी भूमिमा आकर्षणको रुपमा रहेको ओशोका विचार तथा रजनीशपुरमको विस्तारमा पूर्णविराम लाग्छ ।
आफ्नो विशिष्ट तर्क शक्ति, निडर छवि र प्रवचनबाट ख्याति कमाएका रजनीशलाई शीला भेट्न पुगेकै बेला उनलाई आफ्नो गन्तव्यै भेटेझँै लाग्छ र आफूलाई ओशोमा समर्पित गर्छिन् । मा आनन्द शीला शिक्षाले एक कलाकार थिइन् तर बनिन् ओशोकी व्यवस्थापिका । अमेरिकामा उनले ‘फाइन आर्टस’ अध्ययन गरेकी थिइन् । कलेजस्तरको अध्ययन अमेरिकामा सम्पन्न गरेकी आनन्द शीलाले स्वतन्त्रता र लोकतन्त्रको देश अमेरिकालाई ओशो सन्देश विकसित गर्ने स्थानको रुपमा परिकल्पना गर्छिन् र बन्छिन् यो मामिलामा ओशोकी सारथी अर्थात् निजी सचिव । अमेरिकाको ओरिगनस्थित एन्टिलोप टाउनमा ओशो प्रेमीहरुको एउटा बस्ती वसाल्न मेहनत गर्छिन् । त्यसको नाम राखिन्छ – रजनीशपुरम ।
रजनीशपुरम र ओशो बारेको नेटफ्लिक्स डकुसेरिज ‘वाइल्ड वाइल्ड कन्ट्री’ले एमी अवार्डस प्राप्त गरेको छ । एमी अवार्डस लघु चलचित्रको दुनियामा दिइने सबैभन्दा प्रतिष्ठित पुरस्कार हो । डकुमेन्ट्रीका सबै ६ भागमा मा आनन्द शीला, मा प्रेम उषा र स्वामी प्रेम निरेनले ओशो र रजनीशपुरमबारे अन्तर्वार्ता दिन्छन् । उनीहरुको विरुद्धमा ओरेगन एन्टिलोपका स्थानीय बासिन्दा, तत्कालीन न्यायअधिकारी, एटर्नी जनरल कार्यालयका अधिकारीहरु बोल्छन् । सन् १९८५ ताका पनि पक्षविपक्षमा सक्रिय रहेका र अहिले पनि जीवित ६ मुख्य पात्रका अन्तर्वार्ताबाहेक डकुमेन्ट्रीमा स्थानीय टीभी स्टेसनबाट लिइएका तत्कालीन समाचार फुटेज पनि समावेश गरिएका छन् । यो डकुमेन्ट्रीमा राखिएका दृश्यहरु ३ सय घन्टाको फुटेजबाट छानेर राखिएका हुन् । डकुमेन्ट्री निर्देशन गर्ने दाजुभाइ च्यापम्यान वे र म्याक्लिन वे अनि निर्माताहरु मार्क डुप्लास र जे डुप्लास विशेष चर्चामा छन् अहिले ।
मा आनन्दशीला र ओशोबीचको टकराव, शीलाको स्वेच्छाचारिता र भ्रष्ट गतिविधिले ओशो कम्युनमा प्रशासनिक हस्तक्षेपलाई खुला निम्तो दिएको छ । रजनीशपुरममा हुने एकपछि अर्को काण्ड एफबीआई र एटर्नी जनरलको छानबिनमा तथ्य प्रमाणको लागि प्रयोग हुन्छन् । रजनीशपुरम निर्माणका क्रममा रातारात बनाइएका घरटहरा एन्टिलोपका छिमेकीहरुलाई पाच्य हुँदैन । छरछिमेकमाथि शीला र ओशो भक्तहरुको व्यवहार पनि प्रितिकर देखिँदैन ।
बिरानो मुलुकमा आएर स्थानीयलाई चिढ्याउनु हुँदैन भन्ने तथ्यलाई शीलालगायत अन्य ओशोमार्गीले मनन गर्न सक्दैनन् । वातावरण कस्तोसम्म बन्छ भने रजनीशपुरम र ओशोसँग विद्रोह गरेर हिँड्दा २१ जनाको एउटा समूह शीलाकै पछि लाग्छ । युरोपमा भूमिगत बसेकी शिलाको अन्तर्वार्ता ‘स्टर्न’ नामको त्यहाँको चर्चित पत्रिकाले छाप्छ । त्यसलगत्तै स्थानीय प्रहरीसँग समन्वय गर्दै अमेरिकाले शीलालाई आफ्नो हिरासतमा राख्न सफल हुन्छ । र शीलाविरुद्ध पनि स्थानीय र संघीय अदालतमा मुद्दा दायर गरिए ।
प्रेम मस्तिष्कको अवस्था हो भनेर प्रवचन दिने ओशो उनलाई छोडेर जाने मा शीलाप्रति आक्रामक ढंगले प्रस्तुत हुन्छन् । ओशोले मा आनन्द शीलालाई गाली गरिरहँदा प्रेम र जीवनजगतको बारेमा गहन कुरा गर्ने ओशो यिनै हुन् र ? जस्तो लाग्छ । ओशोले डकुमेन्ट्रीमा भनेका छन् – मैले शीलासँग यौन सम्पर्क गरेको छैन, त्यो निश्चितरुपमा हो उनको ईष्र्या । उनी सधँै चाहन्थिन् । तर, मैले निजी सचिवसँग कहिल्यै यौन सम्पर्क नगर्ने तय गरेको थिएँ । (प्रवचनबीच स्रोताको हाँसो गुञ्जिन्छ ।)
प्रेम र घृणाको घनचक्करबाट ओशो पनि मुक्त थिएनन् भन्ने स्वयं उनकै अभिव्यक्तिले प्रमाणित गर्छ । ओशो भन्छन् – ‘लव अफेयर’ कहिल्यै समाप्त हुँदैन, यो घृणाको ‘अफेयर’मा परिणत हुन्छ । उन(शीला)ले आफू महिला भएको प्रमाणित गरेकी छैनन् बरु आफूलाई ‘बोक्सी’ प्रमाणित गरेकी छन् । जेल जानुभन्दा अघि उनी बढी विक्षिप्त बन्दै गएकी छन् । तिमीहरु पर्खमात्र कि त उनले आफ्नो अपराधको बोझले आफैँलाई मार्नेछिन् अथवा आफ्नो सारा जीवन कारावासमा काट्नेछिन् । ओशो र शीलाको व्यक्तित्व एकप्रकारले टकरावको स्थितिमा पुग्छ । जसको विचारको विस्तारका लागि रजनीशपुरमको बस्ती बसेको हो ऊभन्दा जसले व्यवस्थापनको जिम्मा एकलौटीरुपमा लिएको छ ऊ पो शक्तिशाली बनेको छ ।
हालसालका अन्तर्वार्तामा मा आनन्द शीलाले भन्दै आएकी छिन् – उनी ओशोको प्रेममा थिइन् । एलको अनलाइन संस्करणलाई दिएको अन्तरवार्तामा शीला भन्छिन् – जब मैले भगवानलाई बम्बईको आजाद मैदानमा भेटेँ उनको प्रवचन ७ बजे हुनेगथ्र्यो र म मेरो बुबासँग साँढे तीनबजे नै पुग्थेँ । उनको प्रेममा म पागलजस्तै थिएँ ।
शीलाले त्यसरी प्रेम गरेको ओशोलाई थाहा थियो । शीलाले एकपटक ओशोलाई भनिन् – मलाई थाहा छैन तपाईँले मलाई के गर्नुभयो ? तर, म रातमा सुत्न सक्तिन । म शान्तिले खान सक्तिन । युवा, वृद्ध जसलाई भेटे पनि म तपाईंँको बारेमा मात्र कुरा गर्छु । भगवान मिठाससँग हाँस्छन् र मलाई भन्छन् – शीला ती मानिसहरुले देख्न सक्छन् तिमी मेरो प्रेममा छौ । यो भावना काल्पनिक थियो तर अझै वास्तविकताले भरिएको थियो । शीलाले रजनीशपुरम छोड्नु तीन दिनअगाडि भगवानलाई यस बारेमा चिठी लेखिन् । उनलाई ‘सिभियर ब्रोन्काइटिस’ भएका कारण रजनीशलाई सर्ला भनेर प्रत्यक्ष भेटिनन् । उनले प्रत्युत्तर पाइन् – शीला जानुपर्दैन । उनलाई ‘ब्रेक’ चाहिएको हो भने युरोपियन कम्युनमा गई रकम संकलन गर्न सक्छिन् । शीला भन्छिन् – त्यो मेरो ध्येय थिएन । नशामा लागिरहन, रोल्सरोयस र गहनाको आकर्षणलाई सहयोग गर्न म पैसा संकलन गर्न चाहन्नथेँ ।
ओशो र शीलाका प्रेम घृणाको खिचातानीमा ओशो हारेका छन् । शीलाले जितेकी छन् । स्वीजरल्यान्डमा सिनियर होमको सञ्चालन गर्दै आइरहेकी शीला भन्छिन् – प्रेम सकारात्मक शक्ति हो । यसलाई नकारात्मकता र शोषणबाट नष्ट गरिंँदैन । त्यसैकारण म अहिले पनि त्यहींँ छु, भगवान(ओशो)को लागि त्यही प्रेम महसुस गर्दै ।
ओशोको अभिव्यक्ति : एफबीआईको छानबीनलाई आमन्त्रण
एन्टिलोपका स्थानीय मानिसहरुसँगको बेमेल र झैझगडाका कारण ओशो बस्तीविरुद्ध गुनासा व्यापक हुन थाल्छन् । प्रशासन मौकाको पर्खाइमा हुन्छ । प्रायः मौन रहने ओशो मा आनन्द शीलाले रजनीशपुरम छोडेर गइसकेपछि एकाएक उनको विरुद्धमा अभिव्यक्ति दिन थाल्छन् । शीलाले ३ करोड ३० लाख डलर चोरेको, बास्गो काउन्टी जलाउन षड्यन्त्र गरेको र यस्तो अपराधमा संलग्न शीला तथा उनका सहयोगीहरुको पछाडि इन्टरपोल लगाउनुपर्ने भन्दै उनीहरुलाई हतकडी लगाउने पर्ने अभिव्यक्ति टेलिभिजनमै दिन्छन् । ओशोले मौन तोडे, शिलाको बारेमा सार्वजनिकरुपले नैं आलोचना गर्नथाले । छानबिनमा सामेल तत्कालीन एटर्नी जनरलका प्रतिनिधि भन्छन् – ओशोको अभिव्यक्तिले एफबीआईलाई रजनीशपुरमको साँचो दियो । त्यसैगरी एफबीआई टास्कफोर्सका तत्कालीन प्रमुख लिन इनयार्ट रजनीशपुरमको बारेमा भन्छन् – एउटा जोडीलाई साँघुमा यौन गतिविधिमा संलग्न रहेको भेट्यौँ, हेर्दै जाँदा अरु धेरै कम्युन सदस्यबीच खुला यौनसम्पर्क हुने गर्दोरहेछ । इनयार्ट थप्छन् – यस्ता गतिविधि ओरेगनमा अन्त कतै हुँदैनथ्यो ।
बष्टन, अमेरिका