site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सनुपको यात्रा–‘भ्वाइस’ देखि ‘दि भ्वाइस अफ नेपाल’सम्म 
Ghorahi CementGhorahi Cement

कक्षामा विद्यार्थीले गीत गाउन आग्रह गरे । सनुपले नकार्न सकेनन् । विद्यार्थीको बानी नै हो, गीत गाउँदा ताली बजाउनु । सेन्टमेरिजका विद्यार्थीले पनि ताली बजाए, कक्षा सकियो । विद्यार्थी कक्षाकोठाबाट बाहिरए । कोठा खाली भयो । एक जना छात्रा भने निस्किनन् । सनुप उनीतिर अगाडि बढे, ती छात्राले भनिन्,“सर हजुरले याद गर्नुभयो ? मैले ‘क्ल्याप’ गरिन नि !”

“मैले याद गरिन,” सनुपले भने ।

“किन थाहा छ ?” छात्राले सोधिन् ।

Agni Group

“छैन । किन ?” सनुपले जिज्ञासा राख्दै भने, “भनन त ।”

“सर, तपाईंलाई यहाँ क्लाप होइन, हजुरलाई अहिलेको अवस्थामा प्ल्याटफर्म चाहिएको छ । कस्ता कस्ता सिंगरहरुले गीत गाइरहेका छन् । सर हजुरले के गरिरहेको यो ? कस्ता कस्ताले गीत गाएर ‘हिरो’ भइरहेका छन् । हजुरले डिजर्व गर्नुहुन्छ,” ती छात्राले भनिन् । 

Global Ime bank

कक्षा ८ मा पढ्ने ती छात्राको त्यो सुझाव सुनेर सनुपको मथिङ्गल हल्लियो । म के गरिरहेको छु ? आफैले प्रश्न गरे,  किन गाइरहेको छैन मैले गीत ?

कालीप्रसाद बास्कोटा उनका मिल्ने साथी । गीतसंगीतका गफ हुन् या संगीत बाहिरका कुरा । खुब मिल्थ्यो अन्तरङ्ग गफगाफ । कालीप्रसाद पनि त्यो बेलासम्म ‘अन्डररेटेड’ नै थिए । सांगीतिक बजारमा आउने–जाने आफ्नै बानीका कारण गुमनामप्रायः नै थिए । 

सनुपले कालीलाई भने, “लौन म एउटा गीत रेकर्ड गर्नुपर्यो ।” कालीले सनुपको ब्रेक रुचाइरहेका थिएनन् । एकै आग्रहमा भने, “गरौं न, के गरेको तिमीले यस्तो ?”
कालीप्रसादको शब्द र संगीतमा ‘तिम्रो देशैमा....’ सनुपले रेकर्ड गरे । सन् २००८ मा उनले बजारमा ल्याए ।   

‘तिम्रो देशैमा....’ ले बजारमा सनुपलाई प्लेब्याक सिङगिङमा पनि जम्ने स्वर भनेर चिनायो । सुगम पोखरेलले उनको पहिचान गरे र प्रवेश गराए । 

चलचित्र ‘मालतीको भट्टी’ र ‘मञ्जरी’ को ‘दैव हे...’ गीतमा स्वर भरेपछि सनुपको सांगीतिक करिअरमा अर्को इनिङ्स शुरु भयो । 

कक्षा ८ मा पढ्ने ती छात्रा को थिइन् ? उनको नाम के थियो ? सनुपको मस्तिकमा धमिलो सम्झना पनि छैन । तर उनले झक्झक्याएर लगाएको गुन भने सनुपले अझै बिर्सिएका छैनन् । भन्छन्, “त्यो अवोध बालिकाले मलाई जसरी भनिन् हजुरलाई प्ल्याटफर्मको जरुरी छ, के गरिरहनु भएको छ यो ? भनेर । त्यही वाक्यले मलाई गीत रेकर्ड गर्न बाध्य बनायो ।”

‘दि भ्वाइस अफ नेपाल’को यात्रा 

संयोग भने पनि हुन्छ अनि मेहनतको कमाइ भने पनि । उनको पहिलो एल्बमको नाम पनि ‘भ्वाइस’ थियो । अहिले नेपालमा पहिलो पटक आइपुगेको सिङ्गिङ् रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को कोचका रुपमा सुनप एक हुन् । ‘दि भ्वाइस अफ नेपाल’ को कोचमा उनी पुग्नुले पनि सनुप ‘अन्डररेटेड’ गायक हुन् भन्नेमा द्विविधा रहँदैन । 

सञ्जय लगुन सनुपसँगै धेरै ठाउँमा गितार बजाउने गिटारिष्ट थिए । सायद मन जितेकाले पनि हुनुपर्छ, सञ्जयले सनुपलाई भने, “मेरो साथीले एल्बम निकाल्दैछ, त्यसमा ब्याक भोकल गर्दिनुस् न ।”

एकातिर सहकर्मीले गरेको आग्रह, अर्को प्रोफेसन । 

सनुपले हुन्छ भने । तर ‘कसको गीतमा ब्याक भोकल गर्दैछु म’? सनुपलाई नै थाहा थिएन । 

एक दिनको कुरा हो । फिरोज तिमल्सेना ‘दाइ, म तपाईंलाई एकदम रेस्पेक्ट गर्छु’ भन्दै आइपुगे । बल्ल थाहा भयो सनुप उनकै गीतमा ब्याक भोकल गर्दै रहेछन् । 

एकातिर गायकका रुपमा स्थापित हुन खोज्दै गरेका फिरोज अर्कोतर आईटीमा दक्षता हासिल गर्ने बाटोमा हिँडिरेको युवा । सनुपले ब्याक भोकल गरिदिए । 

एक्कासी भेटिएका फिरोज साथीका रुपमा विकसित भए । पछि तिनै फिरोज ‘नेपाल आइडल’मा आबद्ध भए । त्यही ‘नेपाल आइडल’मा निशान भट्टराईले सनुपको गीत गाउने भए ।  फिरोजले नै त्यो बेला सनुपलाई कल गरेका थिए । 

यही फेब्रुअरीमा फिरोजको कल सनुपको मोबाइलमा देखियो । उनले लोकेसन पुलती सडक र समय तय गरे । पुतली सडकको क्याफेमा फिरोजले प्रस्ताव राखे, ‘दि भ्वाइस अफ नेपाल’ कोचको । 

सनुपलाई विश्वास गर्नै गाह्रो भयो । तर त्यो दिन अप्रिल फष्ट थिएन । पत्याउन करै लाग्यो । लक्ष्मण पौड्याललाई उनै फिरोजले भेटाए । लक्ष्मणले पनि एकै भेटमा सनुपलाई ‘कोच’का रुपमा ‘ओके’ गरे । पहिलो पटक नेपाल भित्रिएको विश्वकै लोकप्रिय सिङगिङ रियालिटी शो ‘दि भ्वास अफ नेपाल’ को ‘कोच’ बन्न सफल भए उनी । 

संगीतका सुरुआती दिन 

सनुप भारतको सिलोङमा जन्मिए । त्यहीँबाट उनको ‘स्कुलिङ’ शुरु भयो । गीतसंगीतको ‘स्कुलिङ’ त उनको घरबाटै शुरु हुन्छ । गायनलाई पेशा बनाउने त घरमा कोही थिएन । तर घरमा संगीतप्रति मोह राख्ने भने बुबाआमा नै थिए । शायद त्यही संगीतको रगत सनुपको नशानशामा बगिरहेको छ । त्यसैले त संगीतका बक्ररेखाहरुमा उनको जादुमयी गला घुम्छ । जिन्दगीका उतारचढाव बाटाहरुमा उनका पाइलाहरु अघि बढिरहन्छन् । 

बुबा कार्पेन्टर, जोन डेन,सीसीआरजस्ता काउन्ट्री संगीत सुन्थे। आमा किशोर कुमार, मोहम्मद रफी, मुकेशका गीतमा हराउँथिन् । दाजु भने माइकल ज्याक्सनका गीतमा झुम्थे । सनुपको बालपन यीनै तीन फरकफरक खालका गीत सुनेर कट्यो । सायद यही सांगीतिक वातावरणले उनलाई संगीतको बाटो देखायो । उनी गीत गाउन थाले । जानेर होस् या नजानेर, गीत गाउँथे ।

पारिवारिक जमघटमा उनी गीत गाउँथे । पुराना दिनका पुराना कुरा सम्झन्छन् उनी । संगीत व्यवसाय नभइसकेको त्यो समयमा पनि परिवारले आफ्नो चाहनामा भाँजो नहाल्ने आमाबुबाप्रति नतमस्तक हुँदै भन्छन्, “मलाई परिवारले कहिले पनि यो वा त्यो बन भनेर प्रेसर गरेन । तिमी मात्रै तिमी बन भन्नुहुन्थ्यो । पारिवारिक जमघटमा गीत गाएर सुनाउँथें । एक हिसाबले इन्टरटेनरको रुपमा काम गर्थें ।”

घरमा रेडियो नेपाल घन्किरहन्थ्यो । त्यसको प्रभाव सनुपमा परेको थियो । खासगरी लोकगीत गाउँथे । कसको गीत थियो, देउराली डाँडालाई काटेर गए पनि..., अहिले पनि पत्तो लागेको छैन तर गाउँथे । आमाले सिकाएकी थिइन्, ‘असारे महिनामा...’ हुबहु गाइदिन्थे । 

किन गाउँथे गीत सनुप ? भोलि गएर गायक बन्छु भन्ने थियो ?

थिएन ।

किनकी उनी सानै थिए । जिन्दगीमा आफैं संघर्ष गरेर बाँच्नुपर्छ भन्ने चेत नभएका बेला गायन पनि पेशा हो भन्ने थाहा हुने कुरै थिएन । त्यसैले सनुप गाउँथे मात्रै ।

एसएलसी दिएपछि संगीतप्रतिको रुची झनै झाँगियो । सन् १९९१ मा उनले सांगीतिक ब्यान्ड नै खोले । बुबाले ब्यान्डका लागि आवश्यक सामग्री जोरजाम गरिदिए । 

सिलोङमा सनुपको ब्यान्डले कलिलो उमेरमा पनि राम्रो गीत गाउने भनेर छवि बनायो । ब्यान्डका मेन भोकलिष्ट सनुप आवश्यकता अनुसार ड्रमरदेखि गिटारिष्टसम्मको काम गर्थे । 

गिटारिष्ट सचिन तामाङ, ड्रमर मनोज गुरुङ अहिले आर्मी छन् । उनीहरु आर्मीमा पनि सांगीतिक ब्याण्डमै गिटारिष्ट र ड्रमरका रुपमा रहेको सनुप सुनाउँछन् । 

एकातिर संगीतको भोक अर्कातिर एकेडेमिक कक्षा । सँगसँगै अगाडि बढाउनु थियो । सनुपले बंगाली संगीत प्रशिक्षक शुक्ला धामलाई गुरु थापे । त्यहाँ उनले संगीतका सुर र ताल सिके । संगीत रहरले मात्रै गाइने होइन रहेछ, यसका पनि आफ्नै नियम र तरिका हुँदा रहेछन् भन्ने गहन अध्ययन गरे । आफ्नो स्वरलाई माझे । 

सिलोङमा वेटन ब्यान्डलाई भोकलिष्ट चाहिएको खबर आयो । सनुपलाई प्रस्ताव आयो । हुनले पनि हुन्छ भनिदिए । ब्यान्डको नाम पनि परिवर्तन गरौं भन्ने कुरा चल्यो । ब्यान्डको नाम पनि सनुपले नै जुराए, ‘अस्वमेधा’ । 

यसले स्टेज परफर्म गर्नेदेखि विभिन्न कार्यक्रममा आफूलाई प्रस्तुत गथ्र्यो । त्यही ब्यान्डमा हुँदा उनले गीत रेकर्ड गरे पहिलो पटक, ‘तिमी नै मेरो जीवन...’ । यो गीत उनलाई धेरै मन पर्यो । पछि ‘रेज’ नामक एल्बममा पनि रि–रेकर्ड समावेश गरे । ‘अस्वमेधा’ नामक एल्बम नै निकाल्यो ब्यान्डले ।

० ० ०
स्नातकको पढाइ सकियो । बसोबास इन्डियामा बुबाको जागिरका कारण मात्रै भएको थियो । जागिरे जीवनपछि नेपालमै बस्ने सल्लाह थियो । स्नातक फिलोसोफीमा गरेका उनी यसमै मास्टर्स गर्ने लक्ष्य बोकेर काठमाडौं छिरे । कीर्तिपुर पुग्दा फिलोसोफी भेटिएन । 

घरमा फोन गरेर भने, “बुबा म यहाँ बस्न सक्तिन । सिलोङ नै फर्किन्छु ।” 

“होइन तिमीले त्यहीँ बस्नुपर्छ । यो ठाउँ हाम्रो होइन । हामी पनि त्यहीँ आउनुपर्छ । त्यहीँ बानी पर्नुपर्छ । त्यहीँ संघर्ष गर्नुपर्छ र जिन्दगी खोज्नुपर्छ ।”

बुबाको बचन लत्याउने उनमा हिम्मत थिएन । सोसोलोजीमा भर्ना भए । यतै टहलिन थाले । 

सनुपलाई ‘अस्वमेधा’ एल्बममा भरोसा थियो । सँगै लिएर आएका थिए । हिट्स एफएमबाट रिलिज पनि गरे । राम्रै रेस्पोन्स पायो । गीत काउन्टडाउनमा पनि पर्यो । 
काठमाडौंका लागि सनुप नयाँ थिए । सनुपका लागि काठमाडौं नयाँ थियो । सनुपको काठमाडौंसँगको नाता थियो त केवल बुबा जन्मिएको देश । भावनात्मक सम्बन्ध । तर जिन्दगी भावनाले चल्दैनथियो । 

गीतार नबजाएको एक वर्ष 

नयाँ ठाउँ, नयाँ परिवेश । मन बहलाउनै गाह्रो भयो । तर पनि जिन्दगी त कटाउनै पथ्र्यो । उनी संगीतबाट पनि टाढै रहे । एक वर्षसम्म उनले गीतार पनि समाएनन् । संगीतबाट टाढै रहे । सिक्किम बस्दाका कलेजका साथीहरु काठमाडौंमा पनि थिए । जिन्दगीदेखि नै उराठ लागेको त्यो समय तिनै साथीहरुको साथ पाए सनुपले । उनीहरुसँगै बरालिए । 

एक दिनदिदीले ‘काठमाण्डू पोस्ट’ मा काठमाडौं युनिभर्सिटीमा म्युजिक डिपार्टमेन्टमा भर्ना खुलेको सूचना देखाइन् । देख्नेबित्तिकै सनुपको शरीरमा एक खालको तरङ्ग फैलियो । जोश र जाँगर भरियो । सूचना काटेर पर्समा राखे । त्यही सूचना पछ्याउँदै दाइको सर्टको फेरो समाएर सनुप काठमाडौं युनिभर्सिटी पुगे ।  

दुर्भाग्य !

६ महिना कुर्नुपर्ने रहेछ । 

के गर्ने ६ महिना ?

डिपार्टमेन्टले भन्यो, “६ महिना गितार सिक न ।”

सनुपलाई पनि मनासिव नै लाग्यो सुझाव । 

दैनिक उनी बल्खुबाट भक्तपुर पुग्थे । ड्यानियल बर्डले गीतार सिकाउँथे । घर फर्किएर उनी राति १ बजेसम्म एक्लै बजाउँथे । ६ महिनापछि एकडेमिक शिक्षा ल्याए । 
त्यहाँ प्रभुराज ढकाल, प्रवीण तामाङ, लोचन रिजाल, रोमी बस्नेत, सुरेश बराइलीलाई त्यहीँ भेटे सनुपले । जहाँ उनको सांगीतिक जीवनको अर्को पाटो शुरु भयो । 

संगीतको ज्ञान थपिँदै गयो । गाउने मात्रै होइन, कम्पोजिसन पनि शुरु गरे । संगीतका सुरहरुसँगै झंकृत हुन थाले । 

राजु सिंहले सनुपलाई नोटिस गरिरहेका रहेछन् । मौका पाए सनुपले राजु सिंहसँग काम गर्ने । ‘अविराम जीवनसँग...’ गीत गाए । जुन काठमाडौं आएपछिको सनुपको पहिलो व्यावसायिक गीत थियो । 

२००५ मा पहिलो एल्बम निकाले । नाम थियो,‘भ्वाइस’ । उनका गीत ‘पहिलो पिरती...’, ‘सम्झना आइदिन्छ...(कलेक्सन एल्बमको गीत)’, ‘यस्तै सम्बन्ध...’ लोकप्रिय भैसकेका थिए । त्यो बेला उनी पढ्नका लागि युके पुगेका थिए । यता गीत हिट भइरहेका थिए । एफएमका काउन्टडाउनमा एक नम्बरमा थिए । मिडियाले उनलाई खोज्थे । तर उनी भने उपलब्ध भएनन् । पछि नेपाल फर्किएपछि पनि उनका गीत बजी नै रहेका थिए । तर उनले प्रचारबाजी रुचाएनन् । लो प्रोफाइलमै बस्न रुचाए । संगीत पढिरहेका थिए ।

समय क्यासेट बिक्रीको थियो । स्रोताले रुचाए । क्यासेट बिक्री पनि भयो । तर सनुपलाई कम्पनीले फर्केर पनि हेरेन । बजार त्यस्तै थियो । उनलाई मन परेन । सबैले स्वीकारेर त्यही बाटो हिँडिरहेका थिए । तर सनुपलाई त्यो अव्यवस्था मन परेन । अव्यवस्थाभित्र व्यवस्थित हुन चाहेनन् । उनी आफै साइड लागे । 

विवाह भैसकेको थियो । बच्चा जन्मिसकेको थियो ।  जिम्मेवारीको भारीले किच्न थालिसकेको थियो । तर रोजगार थिएन । त्यसैले उनी मेहनतमात्रै गर्न सक्तैन थिए । फेरि निष्कृय भए २००७ सम्म । त्यही वर्षबाट सेन्ट मेरिजमा पढाउन थाले । 

फेरि सनुपलाई गायनमा फर्काउन ती बालिकाले क्ल्याप नबजाई बस्नुपर्यो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC