काठमाडौं । प्रधानमन्त्री एवम् ने क पाका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरुका विरुद्ध अरिंगाल बनेर प्रतिकार गर्न निर्देशन दिएपछि नेपाली राजनीतिमा अरिंगाल शब्द एकाएक चर्चित बन्न पुगेको छ । प्रधानमन्त्री ओलीले गत शनिबार एक कार्यक्रममा सरकारका काम–कारवाहीको विरोध हुँदापनि पार्टीभित्रबाट कुनै बचाउ नभएको प्रति गुनासो गर्दै कार्यकर्ताहरुलाई अरिंगाल बनेर प्रतिकारमा उत्रिन निर्देशन दिएपछि अरिंगाल शब्द चर्चित बन्न पुगेको हो ।
प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको चार दिन नबित्दै ने क पाका युवा नेता योगेश भट्टराई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा विरुद्ध ‘अरिंगाल’ बनेका छन् । बुधबारबाट सञ्चालनमा आएको नयाँ अनलाइन पोर्टल ‘नयाँ पाइला डटकम’ को उद्घाटन समारोहमा ने क पाका युवा नेता भट्टराई कांग्रेस प्रवक्ता शर्मा विरुद्ध ‘अरिंगाल’ बनेर प्रस्तुत भएका हुन् ।
कार्यव्यस्तताका कारण समयअगावै शुभकामना मन्तव्य राख्ने क्रममा कांग्रेस प्रवक्ता शर्माले ने क पाका नेता भट्टराईलाई प्रेस विरुद्ध अरिंगाल नबन्न आग्रह गरेका थिए । ‘‘मेरो कार्यव्यस्तताले आफ्ना कुरा राखेर मैले मित्र योगेशजीका कुरा सुन्न नसक्ने भएँ । केही दिनअघि उहाँले आफ्नो कुरा राखेर जानुभयो । मैले खासै उहाँका कुरा काटिन,’’ शर्माले प्रधानमन्त्री ओलीको बोलीप्रति कटाक्ष गर्दै भने, ‘‘तपाईंलाई त पार्टीबाटै अरिंगाल बन्ने निर्देशन आएको छ । प्रेस विरुद्ध अरिंगाल नबन्नुहोला ।’’
शुभकामना मन्तव्यकै क्रममा ने क पाका नेता भट्टराईले कांग्रेस प्रवक्ता शर्माको अनुपस्थितिमा अरिंगाल औषधी भएको भन्दै प्रधानमन्त्री ओलीले दिएको निर्देशनको बचाउ गरे । धेरै वर्ष सरकारमा बसेका कारण कांग्रेसको नशा च्यापिएको र अरिंगालले टोकाउँदा च्यापिएको नशा सक्रिय हुने टिप्पणी उनले गरे ।
‘‘कांग्रेस धेरै वर्ष सरकारमा बस्दा–बस्दा त्यसको नशा च्यापिएको छ । अरिंगालले टोकायो भने नशा एक्टिभ हुन्छ । अरिंगाल औषधी हो, त्यसकारण कांग्रेसलाई अलिकति एक्टिभ गर्न कहिलेकाहीँ त्यो औषधी प्रयोग गर्नुपर्ला । त्यत्तिमात्रै हो, अरु केही पनि होइन,’’ उनले भने ।
प्रसंगवश कहिलेकाही आएका कुराहरुलाई नै मुख्य धारणा बनाइए फसिने सम्भावना रहने भट्टराईको भनाइ थियो । ने क पा अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता, पार्टी खोल्ने, बोल्ने लेख्ने संगठन गर्ने स्वतन्त्रता र भिन्न मतहरुको रक्षा गर्ने स्वतन्त्रताको पक्षमा रहेको जिकिर गर्दै उनले कसैले दुई लाइन केही बोलेको आधारमा धारणा बनाउँदै हिँड्न नहुने बताए ।
‘‘पत्रकार बुझ्ने समय कुन हो, उसको व्यावसायिकतालाई बुझ्ने समय कुन हो, त्यो समयमा उसलाई गर्ने व्यवहार र अरु बेला गर्ने व्यवहार भिन्नभिन्न हुन सक्छ । व्यावसायिक कामको सिलसिलामा गरेका कुनै पनि कदमहरु प्रति हाम्रो कुनै टिप्पणी हुने छैन,’’ युवा नेता भट्टराईले भने ।
यसअघि कांग्रेस प्रवक्ता शर्माले प्रेसको घाँटीमा तरबार झुण्ड्याउने कदम कांग्रेसका लागि मान्य नहुने भन्दै मुलुकी संहितालाई संशोधन गरेर लैजान राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बताएका थिए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा प्रधान सम्पादक रहेको अनलाइन पोर्टल ‘नयाँ पाइला डटकम’ ११ बुँदे स्वनियम घोषणा गर्दै बुधबारबाट सुरु भएको छ