site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘कुखुरी काँ’को शैली विज्ञान 
Sarbottam CementSarbottam Cement

त्यसबेला विजय मल्ल लिखित नाटकको वर्चस्व थियो । तथापि, नाटक लेखन भने अगाडि बढ्न सकिरहेको थिएन । ३५ वर्ष अगाडिको कुरो हो यो । काठमाडौंका सभागृह, नाचघर र एकेडेमीका मञ्चमा नाटक हुँदै आएका थिए । तर सबै परम्परावादी नाटक नै थिए, मञ्चमा । नेपाली नाटक एकै ठाउँमा अड्केर बसिरहेको उनी देखिरहेका थिए । 

उसबेला एटमको डर, अस्तित्व समाप्तिको त्रास, परम्परागत कुरोकन्थो, यिनै विषयमा रुमल्लिएर नाटकहरु लेखिँदै आएको थियो । नाट्य लेखनमा खासै परिवर्तन हुन सकिरहेको थिएन । एक किसिमले गतिअवरोधको अवस्था थियो । जबकी समय परिवर्तन उन्मुख थियो ।
नेपाली नाटकका पाठक अनि दर्शकहरुलाई केही नयाँ कुरा दिनुपर्छ भन्ने सोचे उनले । त्यसैले प्राध्यापन पेशाका अतिरिक्त कथा, समालोचना र नाटकमा कलम चलाउँदै आएका प्रा.मोहनराज शर्मा (८०) ले नाट्य लेखनको धार परिवर्तन गरे ।

तिनताक नाटकको अवस्था दयनीय थियो । नयाँ नाटक थिएन । यद्यपि नाटक हुँदैथियो । उता नाटक हेर्ने दर्शक प्रशस्त हुन्थे । भोलिपल्ट हलभाडा तिर्न पैसा हुन्थेन नाट्य समूहसँग । किनभने नाटक हुने बेलामा हल खाली देखेर सित्तैमा दर्शकहरुलाई भित्र बोलाएर सिट भरिन्थ्यो । दर्शकको पनि अभाव थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मोहनराज फरक धारको चिन्तनमा थिए । पाको नयाँसडकमा उनको बसाई थियो । उनका छिमेकी थिए नाट्यकर्मी रविन्द्र खड्का । खड्का र शर्माको भेट भइरहन्थ्यो । एकपटक रविन्द्रले एकेडेमीबाट हुने नाटक महोत्सवका लागि मोहनराज शर्मालाई नाटक लेखिदिन आग्रह गरे ।

हुन्छ भने उनले । उनी परम्पराभन्दा पृथक प्रयोग गर्न चाहन्थे नाटकमा पनि । सायद त्यही चिन्तनमा थिए । उता दिनरात रविन्द्रले नाटक चाहियो नाटक चाहियो भन्दै तारन्तार ताकेता गरिरहे ।  

Global Ime bank

उनले एकरात सुत्दै नसुती एउटा नाटक लेखिसिध्याए । नाटकको नाम थियो, ‘जेमन्त’ । जुन ०४१–४२ सालतिर मञ्चन भएको थियो । 

\"\"

गत सोमबार सहकर्मी सौरभसँग कीर्तिपुरस्थित उनको निवासमा पुग्दा उनी हामीलाई नै पर्खिरहेका थिए । सामान्य औपचारिकता पछि सौरभ तस्बिर लिन थाले । शर्मा भन्दै थिए,  “टोपी लगाएका फोटा धेरै छन् । टोपी नलगाएर पनि केही फोटो खिचौँ है ।”

उनले ‘जेमन्त’ लेखनको चर्चा गरे । भने, “जेमन्त मैले एकै रातमा लेखेको नाटक हो ।  नाटक लेखेर रविन्द्रलाई दिएँ । रविन्द्रले नाटक पढे । उनको समझमा केही पनि आएनछ । नाटकभित्र उनले परम्पराभन्दा धेरै नयाँ कुरा भेटे । त्यसैले पनि उनका लागि त्यो बुझ्नु दुरुह भयो । अनि मैले उनलाई बुझाएँ, –यो नाटकले के भन्दैछ । अति यथार्थवाद के हो । फेन्टेसी के हो– भनेर । तर पनि उनको खोपडीमा आधा पस्यो आधा पसेन ।”

यति हुँदाहुँदै पनि रविन्द्र खड्काले ‘जेमन्त’को निर्देशन गरे । शर्मा आफूले लेखेको नाटक जेमन्तलाई रविन्द्रले मञ्चमा राम्ररी प्रस्तुत गरेको बताउँदै थिए । नाटक रविन्द्रले जति बुझे, जुनरुपमा बुझे पनि उनले नाटकलाई राम्ररी दर्शक सामु पस्किए । त्यो नाटक दर्शकले खुबै रुचाए पनि । 

त्यस पछिमात्रै मोहनराज शर्माले अर्को नाटक ‘यमा’ लेखे । यो नाटक पनि रविन्द्र खड्काको समूहले नै मञ्चमा उतारे । यसलाई पनि दर्शकले मन पराए । नयाँ सोच, नयाँ प्रयोग, परम्पराभन्दा पृथक भएकै कारण यी दुबै नाटकले त्यसबेला पनि दर्शक बटुले । 
त्यसपछि प्रा. मोहनराज शर्माले ‘बैकुण्ठ एक्सप्रेस’ लेखे । तर त्यसबेलासम्म टेलिभिजनको वर्चस्व कायम भइसकेको थियो । अधिकांश नाट्यकर्मी टेलिभिजनकर्मीमा परिणत भइसकेका थिए । त्यसैले ‘बैकुण्ठ एक्सप्रेस’ मञ्चन भएन । 
यसै नाटकले मोहनराज शर्मालाई मदन पुरस्कार दिलायो ।

\"\"

०००

पुख्र्यौली थलो काठमाडौंको काभ्रेस्थली भएका मोहनराज शर्माको बाल्यकाल र त्यसपछिको लामो समय बनारसमा बित्यो । उनी पाँच वर्षको हुँदा उनका पिताजीले बनारस पुर्याएका थिए उनलाई । राम्रो पढाई लेखाई नै उनका पिताजीको उद्देश्य थियो । 
बनारसमा मोहनराज शर्माकी फुपू बस्थिन् । फुपूकै रेखदेखमा उनको बनारसको बसाई सुरु भयो । कक्षा एकमा बनारसकै एउटा स्कुलमा भर्ना भए । कहिलेकाहीँ उनका पिताजी र आमा बनारस पुगिरहन्थे । 

शर्मा भन्दैथिए, “बनारस नेपालीहरुको थलो नै थियो । कासीबास भनिन्थ्यो । त्यसबेला बूढाबूढी मर्नलाई कासीबास बस्थे । केटाहरु पढ्नलाई बस्थे । म पढ्न बसेको थिएँ । फुपू मर्ने भनेर बस्नु भएको थियो ।” यति भनेर उनी आफ्नो चिरपरिचित हाँसो हाँसे । यसरी उनको शिक्षादीक्षा प्रारम्भ भयो । बनारसकै विभिन्न स्कुल र कलेजबाट उनले बीए पास गरे । अनि बिएचयुबाट इतिहास विषयमा एमए गरे ।

पछि उनलाई लाग्यो, नेपाली विषय लिएर पनि एमए गर्नुपर्यो । त्यसपछि उनले प्राइभेट विद्यार्थीका रुपमा त्रिभुवन विश्वविद्यालयबाट ०२१ सालमा नेपाली विषयमा एमए पास गरे । 

अध्ययनपछिका केही वर्ष उनले बनारसमै बसेर काम गरेर बिताए । त्यसबेला बनारमा नयाँ नेपाल प्रकाशनको कार्यालय थियो । ठूलो प्रकाशन संस्था मानिन्थ्यो त्यो । नेपालको एक कक्षादेखि १० कक्षासम्मका पाठ्यपुस्तक त्यहीँ छापिन्थ्यो । त्यहीँबाट वितरण पनि हुन्थ्यो । सुब्बा होमनाथ केदारनाथका नातीको प्रकाशन संस्था थियो त्यो ।

मोहनराजका साथी थिए राजेन्द्र खतिवडा । उनी मोहनराजका एमए पढ्दाका साथी थिए । उनकै पिताजीको प्रकाशन संस्था भएकोले मोहनराजले त्यहीँ काम पाए । किताब लेखाउने, सम्पादन गर्ने, प्रकाशन गर्ने धेरै काम हुन्थ्यो त्यहाँ । त्यसैले पनि उनी लेखनसँगै जोडिए । चलेको प्रकाशन संस्था भएकोले कामको कमी थिएन । प्रकाशनको कमाई पनि राम्रो थियो ।
त्यसैबीचमा उनले केही पुस्तक लेखे । एउटा कथा संग्रह थियो भने अर्को समालोचना संग्रह । उनी कार्यरत नयाँ नेपाल प्रकाशनबाट ‘च्याँखे धर्ना’ शीर्षकमा कथा संग्रह प्रकाशित भयो । पछि उनले ०२३ सालमा समालोचना संग्रह प्रकाशित गरे ।  जसको चर्चा पनि भएको थियो । 
त्यही बीचमा नयाँ नेपाल प्रकाशनको आम्दानी घट्दै गयो । उनलाई लाग्यो, अब यो काम छोड्नुपर्छ । काम छोडेर उनी नेपाल फर्किए ।  वि.सं. २०२५ सालमा त्रिविविले उपप्राध्यापक मागेको थियो । उनले पनि दरखास्त हाले र त्रिविविमा प्राध्यापनको जागिर पाए । उनी खटिए, झापा भद्रपुरको मेची क्याम्पस ।  

\"\"

काठमाडौंका उनी किन झापा पुगे । कारण थियो, पिताजीले झापामा जोडेको केही खेतबारी । उनी बनारस हुँदा पनि झापा गइरहन्थे, खेतबारीको आयस्ता उठानपुठानका लागि । त्यसैले त्यस क्षेत्रका केही व्यक्तिहरुसित उनको राम्रो सम्पर्क थियो । 

अनि उनको खेतबारीसँगै एउटा घर पनि थियो । बासलाई खासै अल्मलिनु नपर्ने भएकोले उनी झापा पुगेको उनको भनाई छ । हुनत उनलाई विराटनगर जान पनि भनिएको थियो । तर उनी भद्रपुर नै गए । र सात आठ वर्ष झापाकै विद्यार्थीहरुलाई पढाए ।

झापामा उनलाई हरेक तरहबाट सजिलो भयो । किनभने पूर्व परिचित शहर । केही व्यक्तिहरुसितको पुरानो सम्बन्ध । अनि केही पुस्तकहरु प्रकाशित भइसकेको हुँदा उनका बारेमा जानकारी । जसले गर्दा उनी विद्यार्थीहरुका बीच चीरपरिचित शिक्षकझैं भए । त्यसैले पनि उनी आफूले मेचीमा सफलतापूर्वक पढाएको बताउँछन् । 

उनी भन्छन्, “नेपालका केही आधुनिक साहित्यको पुस्तकमा मैले जुन काल विभाजन मैले गरेँ, त्यो अलिक पृथक थियो । त्यसो त प्राथमिक काल, माध्यमिक काल र आधुनिक काल भनिन्थ्यो उहिले । मैले बीचमा प्राक आधुनिक काल पनि थपेँ र केही फरक कुरा अगाडि ल्याएको थिएँ । सायद त्यसैले मेरो विषयमा विद्यार्थीहरुलाई जानकारी रहेको हुनुपर्छ ।”

०००

उनले ६–७ वर्ष भद्रपुरमा पढाए । मेची क्याम्पस पहिले त्रिविसँग सम्वन्धन प्राप्त निजी क्याम्पस थियो । नयाँ शिक्षा लागु भएपछि त्रिविले सबै कलेजलाई आफू मातहतमा ल्यायो । यसरी सबै क्याम्पस त्रिभुवन विश्वविद्यालयकै भए । त्यसैले पनि रिडरमा बढुवा भएपछि उनको सरुवा त्रिविवि केन्द्रीय क्याम्पस किर्तीपुरमा भयो । किनभने त्यसबेला सहप्राध्यापकहरुलाई किर्तीपुर क्याम्पसमै ल्याउने चलन थियो ।

काठमाडौं आएपछि उनले प्राध्यापनसँगै लेखनमा पनि विशेष जोड दिन थाले । उनले करिब ३५ वर्ष प्राध्यापन पेशामा बिताए भने लेखनलाई पनि सँगसँगै लिँदै हिँडे । यो ३५ वर्षको समग्र प्राध्यापन अनुभव आफ्ना लागि सुखद रहेको उनी बताउँछन् । प्रायः विद्यार्थी आफूसित झस्किने उनको कथन छ । किनभने उनको  व्यङ्ग्य गर्ने बानी थियो । त्यही व्यङ्ग्यले काण्ड पुर्याउँथ्यो । 

त्यो बेला पनि नेपाली विषयका शिक्षकसँग पनि डराउने अवस्था थियो र ? यो जिज्ञासा स्वाभाविक रुपमा उब्जियो । मोहनराज शर्मा भन्दै थिए, “सताइएका शिक्षक पनि नभएका होइनन् । तर मेरो हकमा भने विद्यार्थीहरु डराउँथे । तर समग्रमा मलाई विद्यार्थीले माया नै गरे । माया नै पाएँ । सम्मान नै पाएँ ।”

उनका अनुसार त्यसबेला शिक्षकहरु प्रति औसत विद्यार्थी मात्रै गुरुको मानसम्मान गर्ने स्वभावका थिए । केही महाका बदमास विद्यार्थी पनि नभएका होइनन् उनको कक्षामा । तर उनले आफ्ना विद्यार्थीलाई सधैँ सघाए । ट्युसनको चलन खासै थिएन । विद्यार्थीहरु अलमलिएका कुरा सोध्न आउँथे । उनी सिकाएर पठाईदिन्थे । त्यसैले पनि होला, आज पनि आफ्ना विद्यार्थीबाट सम्मान पाइरहेका छन्, उनी ।

तत्कालिन समयमा मण्डले विद्यार्थीहरु दुःख दिएको उनी सम्झिँदै थिए । उनका अनुसार त्यस्ता विद्यार्थी कुनै न कुनै विषयमा खोँचे थापिरहन्थे । ०३६ सालको आन्दोलन ताका आन्दोलनकारीले पढ्दिन भन्दै कलेज बन्द गरे । मण्डलेहरु भने कक्षा लिनुपर्छ घम्साघम्सी गर्न आए । जसरी पनि अप्ठेरो पार्ने काम उनीहरुको हुने शर्मा बताउँदै थिए ।

०००

वि.संं. २०१६ सालमै उनको पहिलो कथा छापिएको थियो, बनारसबाट प्रकाशित हुने ‘दीपक’ पत्रिकामा । आसामबाट निस्कने ‘ब्रह्मपुत्र’मा त्यही समयमा निबन्ध छापिएको थियो । यसरी लेखनमा सक्रिय सुरुदेखि नै रहे उनी ।

झापाबाट काठमाडौं आएपछि पनि उनको लेखनीले झनै गति लियो । विद्यार्थीहरुसित सौहाद्र्र सम्बन्ध राख्ने प्रा. मोहनराज शर्माको लेखनी दुई धारमा चलिरहेको थियो । एकातिर अर्थोपार्जनका लागि उनी पाठ्यपुस्तकको लेखनीमा समय दिइरहेका थिए भने साहित्यमा पनि उनको कलम निर्वाध चलिरहेको नै थियो ।

त्यहीताका उनले केही नवीन कृति लेखे । नाटकमा नयाँ प्रयोग गर्दै जेमन्त, यमा (यन्त्र मानव) लेखे । जुन मञ्चन नै भयो । ‘बैकुण्ठ एक्सप्रेस’ नाटक लेखिए पनि मञ्चन भएन । त्यसले पुस्तकको रुप पायो । अनि केही एकांकी नाटकहरुको संग्रह पनि प्रकाशन गरे उनले ।
नाट्य विधामा नवीन प्रयोग गर्नै फरक धारमा नाटक लेख्नुको तात्पर्य लेखनमा केही परिवर्तन ल्याउँछु भनेरै लेखिएको उनी बताउँदै थिए । समय अनुसार केही परिवर्तन आवश्यक छ भन्ने उनको तर्क थियो । 

उनको लेखनीमा स्वैर कल्पनाको विशेष प्रयोग हुन्थ्यो । उनीप्रति विद्यार्थीले सकारात्मक दृष्टिकोण राखेपनि उनको ‘फेन्टेसी’ लेखन कतिपय विद्यार्थीलाई बुझ्न गाह्रो हुन्थ्यो । कतिपय अवस्थामा तिनले यसैलाई लिएर गुनासो पनि गरे । यो फेन्टेसी के हो, यसको प्रयोग किन गर्ने भनेर सोध्थे ।

\"\"

तर कुरा जे जस्तो भएपनि उनले फेन्टेसी लेखनलाई छाडेनन् । नयाँनयाँ विषय र प्रयोग आफ्ना लेखनमा उतार्दै गए । उनी भन्छन्, “मैले फेन्टेसी  रचना आजभन्दा चालीस वर्ष अगाडि लेखेको हुँ । तर अहिलेका फेन्टेसी चर्चामा छन् । अहिलेकाले उहिलेको इतिहास नै बिर्सिसके । अब इतिहास नै बिर्सिन्छन् भने त के नै भन्न सकिन्छ र ! कुनै न कुनै दिन त इतिहास कसै न कसैले खोतल्ने काम त गर्लान् नै ।”
उनी आशावादी देखिए ।

लेखनकै क्रममा उनले ‘दश मुख र म’, ‘दश मुख र रावण’, ‘दश मुख र सीता’ जस्ता प्रयोगवादी धारका कथाहरु पनि लेखे । ‘बैखरी’, ‘भरखर’ पनि प्रकाशित गराए । त्यसबेला उनको फेन्टेसी लेखनलाई लिएर कैयाँैले खिसीटिउरी पनि गर्थे । यो फन्टुसी हो भन्थे । यस्तो लेखेर नेपाली साहित्य कतै जाँदैन भन्ने पनि थिए । तर उनी आफ्नो काम गरिरहन्थे । 

त्यसैबेला उनले एउटा एकांकी संग्रह पनि प्रकाशनमा ल्याए, ‘उताको बाघ’ । यसमा एघार वटा प्रतिकात्मक एकांकी नाटकहरु संगृहित छन् । उनले स्त्री समलिंगी प्रवृत्तिमा केन्द्रीत रहेर उपन्यास ‘सलिजो’ पनि लेखे । अर्को उपन्यास ‘पल्ली’ पनि प्रकाशन गराए । अर्थात् उनले जे लेखे, फरक धार समाएरै लेखे । 

प्राध्यापन र लेखनमा निरन्तर सक्रिय उनको मुख्य व्यवसाय पढाउनु नै थियो । विद्यार्थीलाई पढाउनु र तिनका विषयलाई लिएर हुने कार्यहरु गर्नु उनको काम नै थियो । विभिन्न सेमिनार र कार्यपत्र अनि गोष्ठीका काम त्यसै भित्र पर्दथ्यो । अनि बचेको समय मात्रै उनले साहित्यलाई दिन्थे । त्यसैले लेख्नैका लागि उनी कैयौं रात सुतेका छैनन् । किनभने उनको  अभिव्यक्ति तिर्सनालाई मेटाउने काम आखिर साहित्यले नै त गरेको थियो । 

उनी भन्छन्, “लेख्थेँ । तर पैसा खासै हुन्थेन । यो एक प्रकारको नशा नै हो भन्ने लाग्छ मलाई । पैसा नआए पनि कसैले कथा वा नाटकको प्रशंशा गरिदिन्थ्यो भने आनन्द आउँथ्यो । पैसा गौण हुन्थ्यो ।” एउटा प्रसंग उनले सुनाए । उनका अनुसार कहिलेकाहीँ उपन्यासकार दौलतविक्रम विष्ट भेट हुन्थे । भेट हुँदा उनी आफ्ना छोरा गायक ओमविक्रमको कुरा निकाल्थे र भन्थे “मेरो छोरो छ महिनामा एउटा गीत गाउँछ । अनी बीस रुपैयाँ लिएर आउँछ । त्यसले त्यो बीस रुपैयाँले कसरी परिवार पाल्छ ?” विष्टको भनाइ वास्तवमा नै पीडादायी रहेको उनको भनाइ थियो । तर आत्मसन्तुष्टिका अगाडि सबै कुरो फिक्का हुने उनको तर्क थियो । आखिर नशा नै त थियो साहित्य लेखन ।

उहिले प्रकाशन संस्था खासै थिएनन् । साझा र एकेडेमी मात्रै थियो । यिनले नै किताब छाप्थे । तर यिनले किताब छाप्दाको चिन्ता भनेको मोहनराजलाई एउटै मात्रै हुन्थ्यो । त्यो हो, अलिअलि किताब बाहिर पठाए जस्तो गरेर बाँकी किताब गोदाममा थन्काएर राखिदिनु । बरु गोदाममा कुहाएर राख्थे । बिक्रीवितरणमा ध्यान दिन्थेनन् । 

उनी हाँस्दै भन्दै थिए, “साझाले झप्पु सिंह भन्ने किताब छापेको थियो । त्यसको रोयल्टी मैले पाँच वर्षपछि दुई सय रुपैयाँ पाएको थिएँ । किताबको मोल दुई रुपैयाँ थियो ।” 

०००

उनी बनारसमा रहँदा मनोविनोदमा पनि खुबै लागे । मनोरन्जनका लागि टाकिजहरु थिए । जहाँ हिन्दी सिनेमा र कतै कतै अंग्रेजी सिनेमा लागेको हुन्थ्यो । त्यो बेला पढाइ एउटा काम थियो । अर्को काम भनेको सिनेमा हेर्ने हुन्थ्यो । दिलीप कुमार, राजकपुर, नर्गिस, सुरैया, अशोककुमार र बलराज साहनीका फिल्म उनले खुबै हेरे । कहिलेकाहीँ अंग्रेजी सिनेमा हेर्न पनि जान्थे उनी । अंग्रेजी फिल्म हाफ दाममा देखाउँथ्यो । १२ आनामा थर्ड क्लासको टिकट पाइन्थ्यो । फस्र्ट क्लासको एक रुपैयाँ पर्दथ्यो । जुन उनको बुताभन्दा बाहिरको कुरो थियो ।

\"\"

कासीको गंगाजीमा पौडी खेल्नुमा अर्कै आनन्द आउँथ्यो उनलाई । त्यो बाहेक चङ्गा उडाउने काममा पनि उनी खुबै रमाउँथे । उनी भन्दै थिए, “उतिखेर चंङ्गा उडाउँदा उडाउँदा मेरो आँखा नै माथि फर्किसकेको थियो ।”

यसरी हिन्दी अंग्रेजी सिनेमाबाट मनोरञ्जन लिने मोहनराज शर्माले नाटक पनि लेखे । उनका कैयन नाटक अहिले पनि मञ्चन भएका छैनन् । तर पनि यतिबेलाका नाट्यकर्मीहरु नेपाली नाटक छैन भनेर गुनासो गर्छन् । यो कुरा उठाउँदा शर्मा भन्दै थिए, “हेर्नुस्, नेपाली नाट्यकर्मी वा निर्देशक अल्छी भएका छन् । अहिलेका नाटक निर्देशक विदेशी राइटरका नाटक गर्छन् । किनभने तिनका नाटकमा सारा कुरा सेट हुन्छ । कसरी गर्ने, कति फिटको  स्टेज बनाउने, कति एरियामा अभिनय गर्ने । आदि सारा कुरा सेट छ । तर नेपाली नाटक गर्नुपर्दा आफ्नो कल्पनाशीलताको प्रयोग निर्देशकले अधिकभन्दा अधिक गर्नुपर्छ । कति मिटरको स्टेज बनाउने । कसरी नाटकलाई सुन्दर ढंगबाट प्रस्तुत गर्ने । यो सबै निर्देशकले सोच्नु पर्छ । त्यसैले नेपाली नाटक तिनले गर्दैनन् । किनभने हाम्रा निदेशकहरु अल्छी छन् ।” 

नाटककै प्रसंगमा उनले सम्झिए बैकुण्ठ एक्सप्रेसलाई । भने, “मदन पुरस्कार पाएको बैकुण्ठ एक्सप्रेसको मञ्चन सुनील पोखरेलले गर्छु भन्दै थिए । तर त्यो पनि कुरो मात्रै भएको छ । काम भएको छैन ।” 

०००

उनले समालोचना लेखनमा पनि परिवर्तन ल्याए । उनले समालोचना गर्दा वस्तुवादी समालोचना लेख्न सुरु गरे । पुस्तक र पुस्तकको भाषा नै पुस्तकको अब्जेक्टीभ हो । शीर्षकदेखि अन्तिमसम्म जे थियो, त्यसको विश्लेषण गर्न सुरु गरे । त्यो भन्दा पहिले विषयगत समालोचना हुन्थ्यो । प्रमाणीत नहुने खालका समालोचना धेरै लेखिन्थ्यो । 

वरिष्ठ समालोचक मोहनराज शर्मा भन्दै थिए, “मैले अब्जेक्टीभ समालोचना सुरु गरें । त्यसकै आधारमा शैली विज्ञान आएको हो । ०४२ साल तिर लेखेको हुँ । यसो गरिँदा ममाथि जहाँतहाँ मेरो आलोचना हुन थाल्यो । एकपटक मलाई कवि माधव घिमिरेले पनि भने, ‘कुखुरी काँ को शैली विज्ञान के हो ?’ भनेर । वास्तवमा उनीहरुले लामो समय मेरो विरोध मात्रै गरिरहे । यो विरोधका लागि विरोध थियो ।” 

तर पनि उनले लेख्दै गए । विकासको चरण पनि त्यही हो । विकासको बाटोमा अगाडि बढी सकेपछि पछाडि फर्किने कुरै थिएन । हरेक लेखकले अग्रभूमिको निर्माण गर्नुपर्छ भन्ने मान्यतालाई अगाडि लगाउँदै उनी अगाडि नै बढिरहे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC