काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहको हड्तालका कारण शैक्षिक संस्थाहरु बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । अदालतको आदेशको अवहेलना हुनेगरी आफ्ना पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताहरूलाई पक्राउ गरी जिल्ला घुमाउने काम गरिएको विरोधमा विप्लव समूहले आइतबार बन्द आह्वान गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आइतबार विद्यालयलगायत शैक्षिक संस्थाहरु डरका कारण बन्द भएको बताए । शिक्षा मन्त्रालयका अनुसार विप्लव समूहले यस शैक्षिक सत्रमा गरेको यो तेस्रो बन्द हो । अन्य राजनीतिक कारणले समेत विद्यार्थीहरुको पढाइमा प्रभावित हुँदै आएको छ । यस शैक्षिक सत्रभमा मात्रै विभिन्न कारणले आठ पटक विद्यालय बन्द भएका छन् ।