site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तेजाब आक्रमण/बलात्कार र पाकेटमार उस्तै हैन, नेताज्यू ! 

तलको यो तस्बिर विभत्स छ । विभत्स भएपनि यो तस्बिर यहाँ राखिएको हो । किनभने यो वास्तविक तस्बिरलाई नियाल्नु जरुरी छ हामीले ता कि अब हाम्रा सन्ततिले आफ्ना सहपाठी या आफन्तलाई यस रूपमा देख्न नपरोस् । यिनी हाम्रै छिमेकी चेली हुन् ।
बीस वर्षअघि नै हिंसाको सिकारमा भएकी यी चेलीको तस्बिरले उतिखेरै हामीलाई झक्झकाएको थियो ता कि आज हाम्रा सम्झना, सिमा, हिमु, संगीता, वसन्तीलगायत चेलीहरू उही हिंसाको सिकार नबनुन् ।

\"\"

बीस वर्षअघि (१९९८मा) म 'भर्चुअल पिक्चर एडिटिङ्ग वर्कशप’मा सहभागी हुन बंगलादेशको ढाका पुगेको थिएँ । सहभागीमध्ये दक्षिण एसिया, युरोपलगायत बंगलादेशका फोटोपत्रकार थिए । एकदिन बंगलादेशी फोटोपत्रकार शाफिकुल आलमले मलाई आफ्नो घर लगे जहाँ उनको कार्यकक्ष पनि थियो । उनले मेरो हातमा एउटा किताब थमाएर चिया बनाउन लागे ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यो किताब ‘वर्ल्ड प्रेस फोटो’मा विजयी तस्बिरहरूको थियो । त्यसमा ‘पिपल इन द न्युज’ शीर्षकमा प्रथम भएको बंगलादेशकै तस्बिर कथा पनि थियो । र, त्यो कथा तेजाब आक्रमणमा परेकी एक महिलाको थियो - यिनै शाफिकुलले खिचेको ।

शाफिकुलले मलाई बताएका थिएनन् कि उनी ‘वर्ड प्रेस फोटो’का विजयी फोटोपत्रकार हुन् भनेर । मैले उनलाई बधाई दिन पनि बिर्सेछु यो हृदयविदारक विभत्स तस्बिर देखेर । म एकछिन स्तब्ध भएँ । ‘के हो यस्तो ?  के भएको ?  किन यस्तो भएको ?’

Global Ime bank

उनले मलाई बताएका थिए - ‘बंगलादेशमा महिनामा ८ देखि १० जना महिलामाथि तेजाब (एसिड) आक्रमण हुने गरेको छ । प्रायः असफल मायाप्रेम, घरेलु विवाद र कम दाइजोका कारण । बंगलादेशमा सल्फ्युरिक या नाइट्रिक एसिड सहजै फ्याक्ट्रीमा उपलब्ध हुन्छन् ।’
भारतमा हुने एसिड आक्रमणसम्बन्धी समाचार छिटफुट पढेको थिएँ । मलाई त्यो तस्बिर समाचार र कथावस्तुले अति नै खलबल्यायो । किनभने नेपालमा यस्ता तस्बिर देखेको थिइन, सुनेको थिइन र पढेको पनि थिइन । अर्थात्, यो अपराध नेपालमा भित्रिएको मलाई चाहिँ थाहा थिएन ।

यसले किन खलल पार्‍यो ? यो अपराधले त मानिसलाई जिउँदो लास पो बनाउँछ त । अस्थायी शारिरिक पीडामाथि स्थायी मानसिक पीडा । समाज र परिवारमा पनि जीवनभरको पीडा । यो त जघन्य अपराध पो हो त - निको भएपछि पनि स्थायी कुरुपता ।

तेजाब आक्रमण बेलायत र अमेरिकामा पनि नहुने हैन । संसारभर प्रायः महिलामाथि नै हुने यो अपराधको प्रायः कारण चाहीं मायाप्रेममा असफल हुनेहरूमा आउने प्रतिशोधको मानसिकता । अनि धेरैको लक्ष्य महिलाको सौन्दर्य स्थायी रूपमै बिगारिदिने । नभए तेजाबको आक्रमण अनुहार लक्षित हुँदैन थियो ।

हाम्रो दैनिकीको प्रायः समय जानी नजानी आफ्नो रूपको स्याहार सुसारमा बित्छ । हामी सौन्दर्यपक्षमा हुने समय र पैसाको खर्चमा कञ्जुस्याइ गर्दैनौँ । आर्थिक वर्ष ०७२-०७३ मा मात्रै नेपालमा ७ अर्ब ७६ करोडको सौन्दर्य सामाग्री आयात भयो । यो आँकडा, र अकस्मात हुने कुरुपताबीचको खाडल मापन हुनै सक्तैन । अर्थात्र, तेजाब आक्रमणबाट हुने तनाव पीडितले जति अरूले मापन गर्न सक्तैनौ । त्यसमाथि समाजले हेर्ने दृष्टिकोण । त्यसमा पनि आफूप्रति चिन्तित पारिवारको चिन्ता । यतिमात्र सोच्न सकिन्छ पीडितलाई यसले जीवनभर चितामा बसे सरह तुल्याउँछ ।

चार वर्षअघि, २०७१ माघ ८ गते ललितपुरस्थित मंगलबजारमा हिँड्दै गरेकी एक युवतीमाथि अनुप रानामगरले एक्कासि एसिड प्रहार गरेका थिए । मगरले उनको प्रेम अस्वीकार गरेपछि ती युवतीमाथि एसिड प्रहार गरेका थिए । यस अपराधको मुद्दाको फैसलामा ‘पीडकलाई कारबाही गर्न पर्याप्त कानुन नभएको’ भन्दै जिल्ला अदालत ललितपुरले तत्काल कानुन बनाउन आदेश दिएको थियो । यसको अर्थ हुन्छ यसअघि नेपालमा कानुनको नजरमा यो अपराध बनिसकेको थिएन ।

विसं २०७१ कै फागुन १० गते काठमाडौं बसन्तपुरमा तीन छात्रामाथि एसिड आक्रमण भएको थियो । प्रेममा असफलता र आमाबुबामाथि भएको अपमानको बदला लिने उद्देश्यले आक्रमण गर्ने जीवन बिकलाई प्रहरीले एक महिनापछि सार्वजनिक गरेको थियो । सो घटनामा सीमा बस्नेत र हिमु मुखर्जी सामान्य घाइते भएपनि संगीता पुलामीमगर गम्भीर घाइते भइन् । अपराधीले ‘सुन्दरता नष्ट गर्न एसिड हान्नुपर्छ’ भन्ने कुरा भारतीय च्यानलमा आउने सिरियलबाट सिकेको प्रहरीलाई बताएका थिए । रडले हान्ने वा कुट्ने योजना त्यागेर उनले न्युरोडको एक ब्याट्री पसलबाट १ सय २५ रुपैयाँमा एसिड किनेको बयान दिएका थिए ।

चन्द्रनिगाहपुरकी सम्झना दासको तेजाब आक्रमणमा परेको १० दिनपछि गत सोमबार मृत्यु भयो ।

सँगै आक्रमणमा परेकी उनकी बहिनी सुस्मिता अझै उपचारत छिन् । विसं २०७१ फागुनमा संगीतामाथि भएको तेजाब आक्रमण घटनापछि अहिलेको सम्झना घटनाले व्यापक हलचल मच्चायो । सञ्चारमाध्यमले निरन्तर समाचार दिइरह्यो । यो जघन्य अपराधले जरो नगाडोस् भनी सम्बन्धितको ध्यान खिंचिने आशामा मैले पनि कार्टुन बनाएको थिएँ चार वर्षअघि सेतोपाटीमा । (जुन माथि प्रकाशित छ)

तेजाव आक्रमणले पीडितलाई स्थायी रुपमा कुरुप बनाउँछ, समाजबाट अलग्याउँछ र मानसिक खतको जलन स्थायी रहन्छ । तर, राजनैतिक संक्रमणकालीन खिंचातानीको वातावरणमा रहेको सरकार र संसद्बाट उक्त तेजाब काण्ड उपेक्षामा पर्‍यो ।

सञ्चारमाध्यममा घटना बारे दिनहुँ समाचार आउन थालेपछि तत्कालीन गृहमन्त्री वामदेव गौतमले अपराधीलाई कडा सजाय दिने वचन त दिए तर कमैलाई थाहा छ, राज्यसँग उचित र पर्याप्त कानुनको अभावमा प्रधानमन्त्रीको पनि केही चल्दैन ।
विसं २०७१ मै अदालतले तेजाब आक्रमण अपराधीलाई दण्डित गर्न छुट्टै अनि छिट्टै कानुन बनाउने आदेश दिएपनि आजसम्म अभावै सरह छ । किनभने आज पनि नेपालको अपराध ऐनले तेजाब आक्रमण गरी कुरूप पारेमा जम्मा पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाखसम्मको जरिवाना तोकेको छ । यो सजायले न पीडितलाई न्याय दिएको छ, न त अपराध रोक्न ढालकै काम गरेको छ । 

तेजाब आक्रमण गोली हाने सरहकै जघन्य अपराध पो हो त । बंगलादेश र पाकिस्तानको कानुनले बरु आजीवन कारावासको सजाय तोकेको छ । भारतमा पनि कम्तीमा १० वर्षदेखि आजीवन कारावास र जरिवाना हुने कानुन छ ।
नेपालमा पनि अहिलेको तेजाब आक्रमणका घटना र दण्ड हेर्ने हो भने छिट्टै नै बीस वर्षअघिको बंगलादेशसँग तुलना हुन्छ । नेपालमा भएको तेजाब आक्रमणको तस्बिर सायद सम्झना दासको पहिलो पटक सार्वजनिक भएको हो । नेपालमा पर्याप्त कानुन र कडा सजाय प्रचलनमा नआउँदा सम्झनाको मृत्यु भएको भोलिपल्टै,  अस्ति मंगलबार नवलपुरमा नयाँ घटना सार्वजनिक भयो - कावासोती १६ की वसन्ती परियारलाई छिमेकी विमल बिकले तेजाब खन्याएर गम्भीर घाइते तुल्याएका छन् । कडा कानुन र सजायको प्रचलन हुँदो हो त अपराधीले योजना बुन्दा नै एकपटक आफूले भोग्ने सजाय पनि सोच्दा हुन् ।

अदालद्वारा हत्यारा ठहर भए पनि, राजनीति इच्छ्या बक्स भए आममाफी पाइने,  दण्डहीनता मौलाएको मुलुक हो हाम्रो । जहाँ राजनीतिक बागडोरको जग नै गैरन्यायिक हिंसामा आधारित छ, त्यहाँ तेजाब आक्रमण बलात्कार जघन्य हैन नगन्य अपराध हुन्छ, पाकेट मारे सरह । हिजोआज नेताले बलात्कार हुनुमा ‘महिलाकै चालचलन र पहिरन’माथि दोष थोपर्ने खालको अभिव्यक्ति आए पनि विद्यालयमा  भने शिक्षकले विद्यार्थीलाई यी नेताले झैँ गैरजिम्मेबार शिक्षा नदेउन् । हामीले यस्तो गैरन्यायिक चरण पार गरिसक्यौं भन्ने सन्देश दिर्इ हाम्रो समाज र संततिलाई ढुक्क पार्न पनि जरुरी छ ता कि तिनले त्रासमय दिन काट्न नपरोस् ।

त्यसैकारण पनि आजै हाम्री छिमेकी पीडित महिलाको यो तस्बिर हेरौँ, अनि भोलि जन्मिने हाम्री चेलीलार्इ सम्झी अपराध निर्मूलीकरणको लागि दह्रो र दिगो कानुन बनाऔं । समाजलाई आतंकित पार्ने कुनैपनि क्रियाकलाप आतंककारी अपराध हो । तेजाब आक्रमण र बलात्कारलाई यही दृष्टिकोणबाट हेर्न जरुरी छ राज्यले । तेजाब प्रहार वा बलात्कारलार्इ पाकेटमार सरह ठान्नु हुँदैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC