site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
यस्तो केटाले के काम गर्ला ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एकदिन हरिवंश आचार्य र प्रदीप भट्टराई सीतापाइलाबाट छायाँकन सकेर गाडीमा स्यम्भू भगवानपाउ आइपुगेका थिए । आफ्नो जिप्सी गाडी हरिवंश आफैंले चलाइरहेका थिए । हरिवंशले प्रदीपलाई भने, “प्रदीप भाइ ! तिम्रो सेन्स अफ ह्युमर राम्रो छ । एउटा टेलिफिल्म लेख्ने हो ?”
प्रदीप अक्क न बक्क भए । हुन्छ/हुँदैन के भन्नु भन्नु भयो । न ‘ओ दाइ, अनएक्स्पेक्डेड अफर, थ्यांक यु’ भन्नु न चुप लागेर बस्नु । एक छिनपछि बल्ल उनले ‘हुन्छ’ भने । हरिवंशले भने, “ल ! त्यसो भए एउटा कन्सेप्ट दिन्छु ।”
मह सञ्चारको टेलिफिल्म लेख्ने मौका पाउँदै थिए प्रदीप । तर, उनको अनुहारमा खुसीको कुनै रंग देखिएन । उनी खुसी व्यक्त गर्नै  सक्दैनन् । खुसी हुनै जान्दैनन् । साथीभाइहरू पनि त्यही भन्छन् ।
त्यो टेलिफिल्म ‘लेफ्ट राइट लेफ्ट’ थियो । आर्यन सिग्देल, उषा पौडेललगायतका कलाकार थिए । आर्यन चम्किए । एचआईभी-एड्स मुख्य विषय भएको टेलिफिल्म थियो त्यो । निर्देशकमात्रै रहेका प्रदीप ‘लेफ्ट राइट लेफ्ट’सँगै लेखक पनि भए । अहिले प्रदर्शनको तयारीमा रहेको प्रदीपको चलचित्र ‘जात्रा’का लागि हरिवंश आफैंले लेखेर ‘नोट नोट नोट’ गीत गाइदिएका छन् ।
सिनेमाको कीरो
सर्लाहीको हरियोन चापेनीमा जन्मिएका प्रदीप सानो छँदा साथीभाइबीच निकै चकचके थिए । उनको चकचके प्रवृत्ति पढाइमा भने प्रतिविम्बित भएन । सँगैका साथी पढाइ छल्दै बरालिएर हिँड्दा उनी भने किताब कलममै घोरिरहन्थे । उखु खानसमेत बिर्सिन्थे । त्यसको परिणाम परीक्षामा देखिन्थ्यो । उनले कहिल्यै असफलता चाख्नु परेन ।  साथीभाइसँग चकचके प्रदीप स्कुल, इष्टमित्र, मान्यजनसँग भने साह्रै भद्र थिए । तिखो थियो उनको दिमाग । एकचोटि सुनेपछि नबिर्सिने । रेडियो नेपालबाट बजेका गीतमा स्वरमात्रै होइन, संगीतकार र गीतकारको नाम पनि उनलाई कण्ठस्थ हुन्थे । साथीहरु छक्क पर्थे । उनलाई टेप रेकर्डर नै भन्थे ।
संगीतका पारखी प्रदीप त्यसबेला रेडियो नेपालमा सुरुआती धून बज्नेबित्तिकै गीत थाहा पाइहाल्थे । त्यसबेलाका हिन्दी र नेपाली गायक को हुन् भन्ने चिन्न एक टुक्रा सुनेमात्रै पुग्थ्यो ।
प्रायः बच्चा बेलामा नारायण गोपालका गीत मन पर्दैनन् । उमेर चढ्दै गएपछि, विम्ब÷प्रतीक बुझ्न सक्ने भएपछि नारायण गोपालका गीतले छुन थाल्छन् । तर, प्रदीपलाई सानैदेखि नारायण गोपालका गीत मन पर्थे । खुब सुन्थे । ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी’ खुब मन पथ्र्यो उनलाई । 
प्रदीप सिनेमाका कीरा थिए । पैसा भयो कि दौडिएर सिनेमा हल पुग्थे । साथी भए साथीसँग, नभए एक्लै भए पनि जान्थे । दुर्गा चलचित्र मन्दिर उनको घरनजिकै थियो । फुसले छाएको त्यो सिनेमा हलमा पैसा नहुँदा ढोकाका प्वाल र च्यापबाट चिहाएर पनि हेर्थे । कति सिनेमाको त उनले बाहिरबाट आवाज मात्रै पनि सुने ।
बाल्कोनीमा बसेर हेर्ने पैसा नभएपछि ४ रुपैयाँ तिरेर अगाडि टाउको उठाएर सिनेमा हेर्थे । सिनेमा हेरिसक्दा उनको घाँटी अररिन्थ्यो । तर, पनि सिनेमा हेर्न छाडेनन् ।
एक्सन जानराका सिनेमा उनको पहिलो रोजाइमा पर्थे । राजेश हमाल भनेपछि भुत्तुकै हुने प्रदीपले हेरेको पहिलो सिनेमा ‘कन्यादान’ हो । हिन्दीमा भने उनले हेरेको पहिलो सिनेमा ‘रामायण’ हो । ‘भीष्म प्रतिज्ञा’, ‘पृथ्वी’ उनलाई मन परेका चलचित्र थिए त्यो बेला । ‘यो हात साथीका लागि सलाम, दुश्मनका लागि फलाम हो’ भन्ने जस्ता भारी डाइलग उनको जिब्रोमै थिए । 
साथीभाइका बीचमा रमाइलो गर्ने प्रदीप सिनेमा हलको पछाडि घुमिरहन्थे । त्यो बेला नाङ्लो जस्तो रिलमा सिनेमा देखाइन्थ्यो । त्यो रिल चुँडिएपछि हलवालाले हलको पछाडि फ्याँक्थे । उनी तिनै रिल जोडजाड पार्थे र सेतो कपडा पछाडि राखेर अँध्यारोमा टर्च बाल्दै फोटो हेर्थे ।
बाटै थाहा नभएपछि हिँड्ने कुरै भएन । प्रदीपलाई सिनेमा कहाँ बन्छ, कसरी बन्छ, कसले बनाउँछ भन्ने थाहै थिएन । त्यसैले भोलि सिनेमामै काम गर्छु भन्ने उनले कहिल्यै सोचेनन् । त्यतातर्फ उनको लोभ पनि पलाएन । बुवाआमाले ‘नेपालको पढाइसक्नु पर्छ, ठूलो मान्छे हुनुपर्छ’ भन्थे । प्रदीप पनि होला नि भन्थे । खुब खिपेर पढ्थे ।
०५७ मा उनले एसएलसी दिए । त्यही सालको एकदिन नाइट गाडी चढेर प्रदीप काठमाडौं छिरे । सरस्वती क्याम्पसमा भर्ना भए । त्यो बेला उनको कोठा ललितपुरको पुलचोकमा थियो । पुलचोकबाट हिँडेर सरस्वती क्यापस पुग्थे । उनी साथीसँगै ठमेलको बाटो विदेशी पर्यटकलाई जिस्काउँदै क्याम्पस पुग्थे । क्याम्पस पुग्दा ‘हिजो त फलानो विद्यार्थीले फलानोलाई छुरा हान्यो रे नि, फलानोले त पेस्तोल बोकेको थियो रे नि’ भन्ने सुन्थे । कलेजमा पढाइभन्दा राजनीति धेरै हुन्थ्यो । उनलाई पढ्न मन लाग्नै छोड्यो । तर, पनि आईकम भने सके । 
काठमाडौं आएपछि पनि सिनेमा हेर्ने लत छुटेन । ब्ल्याकमा टिकट किनेर पनि हेरे । शनिबारको बिहानी सो हेर्न निकै गाह्रो हुन्थ्यो । घण्टौंसम्म लाइन बसेपछि टिकट काउन्टरमा पुग्ने बेला ‘हाउसफुल भयो, अब अर्को सोमा मात्रै काउन्टर खुल्छ’ भन्थे । गुण सिनेमामा ‘तँ त साह्रै नि बिग्रिस नि बद्री’ हेर्दा भीड नियन्त्रण गर्न प्रहरी खटिएको थियो । प्रदीपले बार नाघेर भित्र छिर्दा प्रहरीको लाठी खाए । ‘पापी मान्छे’ हेर्दा पनि उनको ढाडमा प्रहरीको लाठी बज्रियो । तर, पनि सिनेमा हेर्ने क्रम बीसको उन्नाइस भएन ।
स्कुल पढ्दै स्क्रिप्ट
सिनेमाका क्रेजी प्रदीपलाई सिनेमा कसरी बनाउनुपर्छ भन्ने थाहा नभए पनि स्कुल पढ्दा नै उनले सिनेमाको कथा भने लेखेका थिए । दुई सय पाना लामो थियो उनको स्क्रिप्ट । मेलो ड्रामा जानरामा उनले तयार पारेको स्क्रिप्टले सिनेमाको नाम जुराएको थियो ‘अन्तिम इच्छा’ । त्यसमा उनले हिरो भन्नेबित्तिकै नाम आउने राजेश हमाल र  हिरोइनमा सारंगा श्रेष्ठलाई राखेका थिए ।
गुन्डाले हिरो र हिरोइनका अभिभावकलाई खतम पारिदिएपछि राजेश र सारंगाका स–साना भाइबहिनीहरू अभावमा हुर्किन्छन् । बदलाको भावना लिएर हिँडेका दुई फरक गाउँका राजेश र सारंगा श्रेष्ठ भेट हुन्छन् । झट्ट हेर्दा दर्शकले उनीहरूको लब प¥यो भन्ने अनुमान गरे पनि उनीहरूको मिसन भने फरक हुन्छ– गुन्डासँग बदला लिनु, गुन्डालाई सफाया गर्नु । एउटै उद्देश्य लिएर अगाडि बढ्दै गर्दा मिसन सफल हुँदै जान्छ । उनीहरू पनि नजानिँदो तरिकाले मायामा फसिसकेका हुन्छन् । यस्तै थियो उनको कथाको सारसंक्षेप ।
उनले काठमाडौं आउँदा त्यो स्क्रिप्ट बडो जतनका साथ एसएलसीको मार्कसिट, सर्टिफिकटसँगै राखेर ल्याए । 
लक्ष्मीनाथ शर्मालाई भेट्दा
कलेजमा गुन्डागर्दी धेरै हुने, पढाइ भने कम । कलेज जान मन मर्दै गएपछि उनले विकल्प खोज्न थाले । सिनेमामा लगाव र चासो बढ्दै गयो । आफूले एउटा स्क्रिप्ट पनि लेखेका थिए । त्यो समय ‘मानसरोवर फिल्म्स’ले वर्षको दुइटा निकै राम्रा सिनेमा बनाउँथ्यो । रमेश बुढाथोकी, किशोर राना, लक्ष्मीनाथ शर्मा त्यो बेला चलेका निर्देशक थिए । प्रदीपलाई त्यो आफ्नो स्क्रिप्ट निर्देशकलाई देखाउन मन लाग्यो ।
यसका लागि प्रदीप ‘मानसरोवर फिल्म्स’ धाउन थाले । पुल्चोकबाट हरेक दिन सबेरै खाना खाएर सिनामंगल पुग्नु उनको दैनिकी भयो । त्यहाँ गएर तल्लो तहका कर्मचारीसँग आफ्नो कुरा सुनाउँथे । जाँदाजाँदै राम्रो चिनजान भयो । उनलाई कर्मचारीहरूले चिया खाजासमेत खुवाउँथे । तर, निर्देशकलाई भोलि भेटाइदिन्छु भन्दाभन्दै पाँच महिना बित्यो । बल्ल एकजनाले लक्ष्मीनाथ शर्मासँग भेटाइदिए ।
लक्ष्मीनाथलाई प्रदीपले भने, “मैले हजुरका धेरै सिनेमा हेरेको छु । राम्रो लाग्छ । म पनि लेख्छु । मैले एउटा स्क्रिप्ट लेखेको छु । सिनेमा बनाउन लायक छ कि छैन हेर्दिनुप¥यो ।”
लक्ष्मीनाथ शर्माले हाँसेर ‘हुन्छ’ भन्दै प्रदीपलाई थप्थप्याए ।
त्यो दिन प्रदीपलाई आफ्नो सपना पूरा भएजस्तो लाग्यो । संसार जिते जस्तो लाग्यो । सिनामंगल धाउन थालेको पाँच महिनापछि बल्ल हँसिलो अनुहार लिएर पहिलोपटक उनी घर फर्किए ।
कौतुहलताकै बीच करिब १५ दिनपछि लक्ष्मीनाथले प्रदीपलाई स्क्रिप्ट फिर्ता गरे ।
“भाइको लेखाइ राम्रो र’छ । स्क्रिप्ट लेखनको प्रयास राम्रो छ,” शर्माले भनेको सम्झिँदै प्रदीपले भने, “उहाँको स्वभाव कसैको चित्त नदुःखाउने खालको रहेछ, त्यही भएर मेरो मन राख्न उहाँले राम्रो भन्नु भएको रहेछ । अहिले म आफैंलाई थाहा भयो त्यो स्क्रिप्ट हेर्दा ।”
आलोकाँचो उमेर । सोझो बुझे उनले । शर्माको त्यो प्रतिक्रियाले प्रदीप हौसिए । ओहो ! म पनि त लेख्न सक्दो रहेछु भन्ने लाग्यो । त्यही दिन उनले प्रण गरे– अब मेरो भविष्य सिनेमा हो । सिनेमामै लाग्छु ।
तैयव शाहको राम्रो ब्यानर थियो । उनी निर्माता मात्रै नभएर राम्रो कलाकार पनि थिए । तैयवले त्यो बेला ‘चाहना’, ‘बेइमानी’, ‘आवारा’ लगायतका सिनेमा बनाएका थिए । प्रदीपले तैयवलाई भेटेर लक्ष्मीनाथको नाम भजाए । उनलाई सिनेमामा छिर्नु न थियो । तैयवको कार्यालय थापाथलीमा थियो । प्रदीपको बासै त्यतै हुन थाल्यो । 
बिस्तारै तैयवले विश्वास गर्न थाले । त्यो बेला तैयवले ‘बेइमानी’ बनाइरहेका थिए । मोहन निरौलाको कथामा विजय चालिसेले निर्देशन गर्दै थिए । तैयवले प्रदीपलाई भने, “अर्को चलचित्रका लागि काम पनि सिक्छौ, ल ‘बेइमानी’मा सहायक निर्देशनको काम गर ।”
प्रदीपका आँखाबाट हर्सका आँशु खसे । उनलाई संसार पाएजस्तो, युद्ध जितेजस्तो अनि सपना साकार भएजस्तो लाग्यो । उनको निर्देशन यात्रा यहीँबाट सुरु भयो । दरबार हत्याकाण्डपछि रिलिज भएको ‘बेइमानी’ राम्रो बने पनि सुपरहिट भने भएन । औसतको सूचीमा रह्यो ।
निर्देशन यात्रा
‘बेइमानी’मा काम गरिरहेकै बेला नेपाली सिनेमाका बाघ प्रकाश थापा, विजय थापाले ‘सँगै काम गर्नुपर्छ’ भने । विजयको ‘मुक्तिदाता’मा आइपुग्दा उनी मुख्य सहायक निर्देशक बने ।
त्यही समय भर्खरभर्खर कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आएको टेलिचलचित्र ‘मनको चहाना’ बनिरहेको थियो । विजय थापाले निर्माण गरेको यो टेलिचचित्रमा प्रदीपले मुख्य सहायक निर्देशक भएर काम गरे । नयनराज पाण्डेको कथा ‘मनको चाहना’ हिट भयो । जस प्रदीपको पोल्टामा पनि गयो ।
सुरज सुब्बाले लेखेको गौरीशंकर धुजूको ‘नारी’मा पनि प्रदीप आबद्ध भए । यसका अन्तिम शृंखला उनैले फुल निर्देशकको रूपमा निर्देशन गरे ।
गौरीशंकर धुजू मह जोडी टेलिफिल्मका छायाँकार थिए । प्रदीपले उनलाई बेला–बेला भन्थे, “मलाई पनि मह जोडीसँग काम गर्न मन छ । भन्दिनु पर्यो ।”
धुजू पनि ‘हुन्छ म कुरा गर्छु’ भन्थे । हुन त मह जोडी प्रदीपले निर्देशन गरेका टेलिसिरियलहरूको छायाँकन हेर्न आउँथे । तर, प्रदीप धेरै बोल्न सक्दैनथे । बोलचाल औपचारिकतामै सीमित हुन्थ्यो ।
अनपेक्षित अफर
‘नारी’ छायाँकनको अन्तिम दिन थियो । गोदावरीमा सुटिङका लागि एक वर्ष घर भाडामा लिएका थिए । अन्तिम दिनको सुटिङ अबेर राति सकियो । त्यसको भोलिपल्ट मह जोडीको ‘टिकेको तीन मन्त्र’ छायाँकन सुरु हुँदै थियो ।
महाराजगन्जस्थित सुटिङ स्टुडियो बटम प्यालेसमा सुटिङ थियो । त्यसका लागि ‘नारी’को सेटलाई नै मह जोडीले बोलायो । विडम्बना ! त्यसमा ‘नारी’का एकजना व्यक्तिमात्र परेनन् । ती थिए प्रदीप । सबै बिहान सबेरै उठेर बटम प्यालेसतर्फ लागे । मह सञ्चारको ब्यानरमा काम गर्ने भनेपछि उनीहरूमा उत्साह नै अर्कै थियो । अनुहारमा लाली छाएको थियो । तर, प्रदीपलाई भने दिक्क लागिरहेको थियो । उनलाई उठ्न मन पनि लागेन । निद्रा नपरे पनि उनी बिहान अबेरसम्म एक्लै सुतिरहे । मनमा अनेक कुरा खेले । ८ बजेतिर उठेर चाबहिलस्थित आफ्नो कोठा आए । आलश्य उनको शरीर हारेको सिपाहीजस्तो थियो ।
पौने १० बजे उनको फोनमा घण्टी बज्यो । उठाए ।
गौरीशंकरको आवाज सुनियो, “प्रदीप अहिले बटम प्यालेस आउन सक्छौ ?”
छायाँकन हेर्न बोलाएका होलान् भन्दै प्रदीप बटम प्यालेस पुगे । पुगेको ३ मिनेटभित्र ‘असिस्टेन्ट गर’ भन्दै उनलाई क्ल्याप र आवश्यक सामान थमाइदिए । त्यसअघि नै सिनेमामा मुख्य सहायक निर्देशन र टेलिसिरयलमा पूर्ण निर्देशन गरिसकेका प्रदीप मह सञ्चारको सहायक निर्देशक हुँदा पनि दंगदास भए । कमल मैनाली मुख्य सहायक निर्देशक थिए ।
अन्ततः प्रदीप मह सञ्चारसँग जोडिए । उनी आफैंलाई विश्वास गर्न गाह्रो भयो । आलश्य शरीरमा एकाएक स्फूर्ति आयो । दोस्रो पटक युद्ध जितेझैं भयो ।
पछि महजोडीले प्रदीपलाई विश्वास गर्दै गए । सम्पूर्ण कामको जिम्मेवारी दिन थाले । हरिवंश, मदनकृष्णको प्रिय पात्र नै प्रदीप बने । 
यस्तोले पनि काम गर्छ ?
गौरीले एकपटक हरिवंशलाई भनेछन्, “त्यो प्रदीप भाइ मेहनेती केटो छ, त्यसलाई पनि हाम्रो युनिटमा समावेश गर्नुपर्छ होला ।”
हरिवंशले भनेछन्, “गौरी दाइ पनि ! त्यस्तो फुच्चेले पनि काम गर्छ ? जसलाई पनि सिफारिस गर्नुहुन्छ ।”
त्यतिबेला प्रदीप एकदमै पालता थिए । “अलि ठूलो हावा चल्दा पनि उडाउला जस्तो,” प्रदीपले हाँस्दै भने ।
‘टिकेको तीन मन्त्र’को छायाँकन करिब १५ दिन चल्यो । आफूलाई चित्त नबुझेको र थप राम्रो हुन्छ कि भन्ने विषयमा प्रदीप प्वाक्क बोलिहाल्थे । ‘योभन्दा यसो गर्दा कसो होला ?’ भन्थे । उनको कुरा हरिवंश र मदनकृष्णलाई चित्त बुझ्दो रहेछ । ‘प्रदीप भाइले भनेको ठीक छ’ भन्थे । 
पहिलो कामबाटै मह जोडी प्रदीपसँग प्रभावित भयो । 
लुनिभा तुलाधर र नवराज आचार्यले च्याट गर्ने दृश्य थियो । त्यसलाई कसरी प्रभावकारी बनाउने भनेर हरिवशंले गम खाइरहेका थिए ।
प्रदीपले भने, “दुई कम्युटरमा नेट जोडेर गर्यौं भने राम्रो हुन्छ ।”
हरिवंशले भने, “गुड आइडिया ।”
प्रदीपले भनेजसरी नै त्यो सिन खिचियो ।
मेगा फ्ल्मिको पोस्ट प्रडक्सनको काम भइरहेको थियो । बिस्तारै कार्यक्षेत्रमा लम्किरहेका प्रदीप पोस्ट प्रडक्सनको काम गर्ने भइसकेका थिए । ‘टिकेको तीन मन्त्र’को पोस्ट प्रडक्सनको सबै काम उनैले गरे । टेलिचलचित्र हिट भयो । नेपालको इतिहासमै पहिलो पटक एकैचोटि सातवटा टेलिभिजनबाट ‘टिकेको तीन मन्त्र’ प्रसारण भयो ।
त्यो बेला महजोडीले भन्यो, “हाम्रो असिस्टेन्ट भएर धेरैले काम गरे । तर, यसरी पहिलो काममै र सबै जिम्मेवारी भने तिमीलाई दिएको यो पहिलो पटक हो ।”
प्रदीप दंग परे ।
अहिलेसम्म मह जोडीका करिब ५ सय शृंखलामा काम गरेका प्रदीपले ‘भाइरस’, ‘जलपरी’, ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’, ‘सृष्टि’लगायतका करिब ५० वटामा काम गरे । थुप्रै सामाजिक र व्यावसायिक विज्ञापन र महजोडीका गीत गरे ।
जाँदाजाँदै प्रदीपले भने, “दाइहरूसँग काम गरेको १२ वर्ष भयो । ‘टिकेको तीन मन्त्र’मा काम गर्दा मैले उहाँहरूबाट जति माया पाएँ, त्यो अहिले पनि यथावत् छ । बरु बढेको होला तर घटेको छैन । यो मेरा लागि सौभाग्य पनि हो ।”
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC