site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सम्बन्ध तोड्दै, अपराध जोड्दै फेसबुक
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सञ्जाल भन्नेबित्तिकै धेरैको दिमागमा आउँछ फेसबुक । त्यसो त ट्विटर, इन्स्टाग्राम, भाइबर, इमो, ह्वाट्सएप आदि पनि सामाजिक सञ्जालमै पर्छन् । 

नेपालमा सबैभन्दा बढी चलाइने र चलाउन सजिलो पनि छ फेसबुक । नेपालमा यति नै संख्यामा फेसबुक प्रयोगकर्ता छन् भन्ने यकिन तथ्यांक छैन । तर, ६० प्रतिशतभन्दा बढी नेपाली इन्टरनेटको पहुँचमा छन् र इन्टरनेट पहुँचमा हुनेमध्ये धेरैजसोले फेसबुक चलाउँछन् । यसरी झन्डै एक करोड नेपाली कुनै न कुनै माध्यमबाट फेसबुकसँग जोडिएको अनुमान छ । 

सामान्यतया फेसबुक भन्नेबित्तिकै तस्बिर तथा भिडियो पोस्ट गर्ने, सेयर गर्ने, समसामयिक विषयमा विचार व्यक्त गर्ने, बहस गर्ने, व्यक्तिगत भावना पोख्ने, कुराकानी गर्ने डिजिटल प्लाटफर्मको रुपमा बुझिन्छ । सामाजिक सञ्जाल भएकोले आफ्नो नेटवर्क बनाएर सामूहिक रुपमा विभिन्न गतिविधि पनि हुने गरेको पाइन्छ फेसबुकको माध्यमबाट ।  

Prabhu Bank
Agni Group
NIC Asia

विदेशमा बस्ने नेपालीहरुका लागि नेपालमा रहेका परिवार, आफन्त तथा साथीभाइसँग सम्पर्कमा रहन तथा देशका समसामयिक विषयको अपडेट लिन पनि सजिलो माध्यम बनेको छ फेसबुक । सरकारकै तथ्याङ्कअनुसार करिब ४५ लाख नेपाली तेस्रो मुलुक (भारतबाहेक) मा रोजगारीका लागि गएका छन् । उनीहरुका लागि घरपरिवार, साथी, समाज र देशसँग जोडिने महत्वपूर्ण माध्यम हो फेसबुक । 

फेसबुकको प्रयोग बढेसँगै यसको सदुपयोग तथा दुरुपयोग पनि दुवै बढेको छ । फेसबुकलाई माध्यम बनाएर विभिन्न परोपकारी कामहरु पनि हुने गरेका छन् भने सँगसँगै आपराधिक घटनामा पनि फेसबुक कारक बनेको विभिन्न घटनाले देखाएका छन् । 

Global Ime bank

केही प्रतिनिधि घटना हेरौं ।

यही भदौ ४ गते काठमाडौं गोंगबुस्थित एक गेस्ट हाउसमा प्रेमी–प्रेमिका मृत फेला परे । मृत्यु हुनेमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीय सविना बजगाईं थिए । सविनाका श्रीमान् वैदेशिक रोजगारीमा थिए । प्रहरी अनुसन्धानका क्रममा यम र सविनाको प्रेम सम्बन्ध सामाजिक सञ्जालमा बाहिरिएपछि उनीहरुले आत्महत्याको बाटो रोजेका थिए ।

ओखलढुंगा चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीय राधा केसी (नाम परिवर्तन)ले गत असार ६ गते आत्महत्या गरिन् । एसईई परीक्षा दिएर बसेकी उनको ज्यान फेसबुकको एक ‘फेक स्टाटस’ अर्थात् पोस्टले लिएको हो । उनको वास्तविक फेसबुक आईडीबाट तस्बिर झिकेर एक फेक आईडी बनाइएको थियो, जसमा उनको चरित्र हत्या गरिएको थियो । त्यही पोस्टका कारण उनले आत्महत्याको बाटो रोजेको बताइएको छ । प्रहरी अनुसन्धानका क्रममा फेक आईडी बनाउने युवक पक्राउ परेका छन् । उनले आफ्नो प्रेम स्वीकार नगरेका कारण त्यस्तो गरेका बताएका छन् । 

केही समयअघि सीताराम भट्टराईले फेसबुकमा एक महिलाको फोटोसमेत राखी विभिन्न किसिमको अश्लील शब्दहरु लेखेर पोष्ट गरे । ब्युरोले सीतारामलाई पक्राउ गरेर साइबर अपराधमा मुद्दा चलायो । उनी ५० हजार धरौटीमा छुटे ।

नेपाल प्रहरीको साइबर ब्युरोका डीआईजी विकास श्रेष्ठ भन्छन्, ‘‘सामाजिक सञ्जालमा एकछिनको आवेशमा लेखिएको पोस्टले मान्छेलाई आत्महत्या गर्नसम्म बाध्य पार्ने कुरा सामान्य होइन । यस्ता अन्य घटना पनि छन् ।’’ साइबर ब्युरोकै एसएसपी नविन्द अर्यालका अनुसार पछिल्लो समय नेपाली र विदेशी समूहले नेपाली बालिकहरुलाई निसाना बनाउन थालेको छ ।

केही दिनअघि काठमाडौं तीनकुनेकी १७ वर्षीया रिया मास्के (नाम परिर्वन) लाई एक फेसबुक आईडीबाट युवकको फ्रेन्ड रिक्वेस्ट आयो । भर्खर–भर्खर फेसबुक चलाउन थालेकी उनी नयाँ साथीको रिक्वेस्ट आउँदा उत्साहित भइन् र साथी बनाइन् । उनीहरुबीच कुराकानी सुरु भयो । कुराकानीकै क्रममा ती युवकसँग तस्बिर आदानप्रदान हुन थाल्यो । केही दिनपछि ती युवकले रियालाई एक तस्बिर पठाए । जसमा टाउको रियाकै थियो भने घाँटीमुनि नग्न तस्बिर थियो । रिया झस्किइन् । त्यसपछि ती युवकले आफ्नो वास्तविक नग्न तस्बिर नपठाए आफूले बनाएको तस्बिर भाइरल बनाइदिने भन्दै ब्ल्याकमेल गर्न थाले । यतिमात्रै होइन, रियासँग पैसासमेत माग्न थालियो । रियाको घटनाको अनुसन्धान साइबर ब्युरोले गर्दैछ । यस्तो कार्यमा नेपाली र बंगलादेशी नागरिकको संलग्नता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अधिकारीका अनुसार रियाजस्तै कैयौं किशोरी यस्तो घटनाको सिकार भएका छन् । कतिपयले डराएर आफ्नो नग्न तस्बिरसमेत पठाएको देखिन्छ । व्युरोका एसएसपी अर्याल भन्छन्– ‘‘फेसबुक होस् या अन्य सामाजिक सञ्जाल, साथी बनाउँदा विचार गरौं । कुराकानी गर्दा सचेत बनौं । सकेसम्म नचिनेको व्यक्तिलाई साथी नबनाऔं । बनाइसकेपछि पनि सावधानी अपनाउँ ।’’

‘लिभिङ टुगेदर’मा बस्ने र विदेश गएकाको ठूलो समस्या

ब्युरोका अनुसन्धान अधिकारीका अनुसार पछिल्लो समय ‘लिभिङ टुगेदर’मा बस्ने र विदेश गएकाहरुको परिवार तथा उनीहरुको सम्बन्धमा ठूलो दरार ल्याउने माध्यम बनेको छ, फेसबुक । ब्युरोका डीआईजी विकास श्रेष्ठ भन्छन्, ‘‘मन मिलेर विवाह नै नगरी लिभिङ टुगेदर बस्ने, त्यतिबेला विभिन्न तस्बिर खिच्ने । कतिपय अश्लील तस्बिर पनि खिचिएको हुन्छ । सम्बन्ध बिग्रेपछि त्यही तस्बिरलाई लिएर ब्ल्याकमेल गर्ने प्रवृत्ति बढ्दो छ ।’’ उनका अनुसार लिभिङ टुगेदारकै कारण विभिन्न आपराधिक घटनासमेत हुने गरेका छन् । उपत्यकामै कैयौं घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

त्यसो त वैदेशिक रोजगारीले पनि विभिन्न प्रकारका साइबर अपराध निम्त्याएको छ । पछिल्लो समय सामाजिक सञ्जालकै विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद समेत भएको विभिन्न जिल्लाका प्रहरी अधिकारी बताउँछन् । एक अधिकारी भन्छन्, ‘‘फेसबुकको पासवर्ड दिने–नदिने विवाद हुँदा कुटाकुट भएर प्रहरीसम्म पुग्नेहरु बढ्न थालेका छन् । फेसबुकमै हुने कुराको शंकाले ठूलै रुप लिएको देखिन्छ ।’’

श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीको अरुसँग प्रेम सम्बन्ध भएको र पछि त्यही प्रेम सम्बन्धले अपराधको रुप लिने गरेका कैयौं घटना भएको प्रहरी अधिकारीको अनुभव छ । कतिपयले वैदेशिक रोजगारीमा गएकाहरुको श्रीमतीसँगको सम्बन्धका गोप्य तस्बिरसमेत फेसबुकमार्फत् पठाएको पाइएको छ । एक अधिकारी भन्छन्, ‘‘अवैध सम्बन्ध आफैँमा अपराध हो । यस्तो सम्बन्ध जतिबेला पनि टुट्नसक्छ । सम्बन्ध टुट्ने बेला सम्बन्ध राम्रो हुँदा हौसिएर गरेका क्रियाकलाप खिचेर राखेको भए त्यो ठूलो ब्ल्याकमेलको कारण बन्नसक्छ । वैदेशिक रोजगारीमा भएकाहरुमा यस्तो समस्या देखिँदै आएको छ ।”

फेक आईडी ठूलो समस्या

ब्युरोका एसएसपी अर्याल ‘फेक फेसबुक आईडी’ सबैभन्दा ठूलो समस्या बन्दै गएको बताउँछन् । ‘फेक आईडी’को मारमा नेता, कलाकारदेखि आम व्यक्तिसम्म छन् । प्रायः फेक आईडी महिलाको बनाउने गरेको देखिन्छ । ब्युरोको कार्यालयमा दैनिक रुपमा फेक आईडीबाट पीडित भएकाहरु आउने गरेको एसएसपी अर्याल बताउँछन् । सामाजिक सञ्जाल त्यसमा पनि फेसबुकबाट एकैपटक लाखौंमा सकारात्मक वा नकारात्मक सन्देश पुग्ने भएकाले कतिपय हतासमा पनि देखिने गरेको एसएसपी अर्याल बताउँछन् । अर्याल भन्छन्, ‘‘धेरैलाई हामीले सम्झाएर पठाउँछौं । कतिपय त आएर रोईकराई नै गर्छन् ।’’

साइबर अपराधको ग्राफ बढ्दो

पछिल्लो ३ आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो साइबर अपराध बढ्दो छ । आर्थिक वर्ष ०७३–०७४ मा १११८ ओटा साइबर अपराधका मुद्दा दर्ता हुँदा ०७४–७५ मा १६९४ दर्ता भए । यस्तै ०७५–०७६ मा २२०९ मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कले देखाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय